कोभिड-१९ महामारीको संकटमा न्यूयोर्कमा रगतको अत्याधिक अभावलाई मध्यनजर गर्दै एनआरएनए, न्युयोर्क च्याप्टरले न्युयोर्कमा रक्तदान कार्यक्रमको आयोजना गरियो । न्यूयोर्कको उडसाइडस्थित सत्यनारायण मन्दिरमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा १ सय ३० जनाले रक्तदान गरेको थियो ।
न्यूयोर्कमा क्रियाशिल विभिन्न ४८ संघ संस्थाहरूको विशेष सहयोग र न्युयोर्क ब्लड सेन्टरको सहकार्यमा रक्तदान भएको थियो । न्युयोर्क ब्लड सेन्टरको लिङ्कमा १ सय ५९ जनाले अपोइन्टमेण्ट बनाएकोमा १ सय १२ जनाले रक्तदान गरेका थिए भने १८ जना त्यही उपस्थित भएर रक्तदान गरेका थिए । कुल १ सय ३० रक्तदाताबाट १ सय ३० पिन्ट रगत संकलन भएको एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारिले जानकारी दिएको छ ।
कार्यक्रम एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरका युवा संयोजक बिजय गुरुंगको संयोजकत्वमा भएको थियो । न्युयोर्क कान्सुलेटका वाणिज्यदूत गणेश प्रसाद अधिकारीले उद्घाटन गरेको कार्यक्रममा एनआरएनए एनसिसि अमेरिकाका उपाध्यक्ष बाबुराम (बिआर) लामा, एनआरएनए एनसिसि अमेरिकाको बोर्ड सदस्यहरू, वल्ड ब्लड डोनर एसोसियसनका अध्यक्ष अर्जुन मैनाली लगायत विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरु सहित करिब ३०० जनाको सक्रिय उपस्थिति रहेको जनाएको छ ।
कार्यक्रममा रक्तदाताहरुलाई नेपाल भिजन इन्कले पीपीई, के.एन.९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स र सेनिटाईजर वितरण गरेका थिए भने सेन्सन ब्युरोका प्रतिनिधि र अधिकारका प्रतिनिधिले यू.एस. जनगणना-२०२० को फाराम भर्ना सहयोग गरेका थिए भने एलमस्ट अस्पतालको मेडिकल टिमले निःशुल्क स्वास्थ्य जाच तथा अस्पतालले दिने सेवाहरूको बारेमा जानकारी दिएको थिए । कोभिड १९ को यो महामारिमा रक्तदान गर्ने सबै रक्तदाताहरु, सहयोगीहरु र कार्यक्रम सफल बनाउनमा मद्धत पुर्याउने सस्थाका प्रतिनिधिहरुलाई आयोजक सस्थाका अध्यक्ष रामहरि अधिकारीले धन्यवाद दिएका छन ।