काठमाडौँ । ‘हिम चितुवा’ को उपमा पाएका कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधवार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । उनको सोमबार बिहान काठमाडौँको जोरपाटी निवास ७२ वर्षको उमेरमा मृत्यु भएको थियो ।
मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले आङरितालाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो । त्यही अनुरूप श्रद्धाञ्जलीको लागि उनको पार्थिक शरीर राखिएको स्थान बौद्धस्थित शेर्पा गुम्बा पुगेर बुधवार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको झन्डा ओढाएका थिए ।
‘यो समग्र पर्वतीय पर्यटनको सम्मान हो, अझ आरोहीहरूको लागि विशेष सम्मान हो’ नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्त वीर लामाले भने, ‘उहाँ राष्ट्रिय सम्मानको हकदार हुनुहुन्थ्यो, म मेरो व्यक्तिगत र सङ्घको तर्फबाट मन्त्रीज्यूसहित सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ यसअघि सङ्घले आङरितालाई राष्ट्रिय सम्मान दिन अनुरोध गरेको थियो ।
सन् १९८३ मा जर्मन–अमेरिकन आरोहण टोलीसँगै उनले पहिलो पटक सगरमाथा आरोहण गरे, त्यो पनि विना अक्सिजन । ‘अन्ततः मेरो सपना पुरा भयो’ उनले भनेका छन् । विना अक्सिजन सगरमाथाको आरोहणले उनलाई थप हौसला मात्र मिलेन, पर्वतारोहण गाइडको रूपमा आफूलाई पेसामा सुरक्षित पनि महसुस गरायो ।
त्यसपछि उनले सन् १९८४, ८५, ८७, ८८, ९०, ९२, ९३, ९५ र ९६ गरी दश पटक विना अक्सिजन सगरमाथा आरोहण गरे । त्यसैमा उनको विश्व रेकर्ड पनि कायम भयो । सन् १९९० मा उनले छैटौँ पटक सगरमाथा आरोहण गरेपछि त्यस बेला सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीको रेकर्ड पनि कायम गरेका थिए । पछि आफैले दश पटक आरोहण गरे ।
उनको योगदान आरोहणमा मात्र सीमित छैन । उनी वातावरण संरक्षणका क्षेत्रमा पनि सक्रिय थिए । द माउन्टेन इन्स्टिच्युटसँग मिलेर उनले मकालु वरुण राष्ट्रिय निकुञ्जको स्थापनाका लागि कार्यदलमा बसेर काम गरेका थिए । पछि उनले त्यही संरक्षण, शिक्षा, पर्यटन र प्राकृतिक स्रोत अधिकृतको रूपमा काम गरे । उनले यो र अन्य यस्तै धेरै परियोजनाहरूमार्फत पुर्याएको योगदान बापत सन् २०११ मा संरक्षण क्षेत्रमा निक्कै प्रतिष्ठित मानिने सर एडमण्ड हिलारी माउन्टेन लेगेसी मेडलले सम्मानित गरिए ।