३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

भारतीय विदेश सचिव र चिनियाँ विदेशमन्त्री आउँदै



काठमाडौं । अबको केही दिनमा भारत र चीनबाट उच्चस्तरको भ्रमण नेपालमा हुने भएको छ । भारतका परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवर्द्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा आउन लागेका हुन् । यसैगरी चिनियाँ विदेशमन्त्री वाङ यीले पनि अर्को साता नेपाल आउने छन् ।

भारतसँग दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुने जनाएको छ ।

बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । विदेश सचिव श्रृङ्गाला मङ्सिर १२ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

त्यस्तै नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य एवम् विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार, विदेशमन्त्री वाङ पाकिस्तानको इस्लामावादमा शनिबार आयोजना हुने त्रिपक्षीय अफ्गानिस्तान–पाकिस्तान–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी हुन पाकिस्तान जान लागेका छन् । पाकिस्तानका विदेशमन्त्री मोइन कुरेसीको निमन्त्रणामा पाकिस्तानको भ्रमण गरेर उनी नेपाल आउन लागेका हुन्।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ४ : १६ बजे