गणेश वाम्बुले राई
काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मभूमि नेपाल भनेर चिनिन्छ । जन्मस्थल लुम्बिनीको चरणवद्ध विकास भइरहेको छ । नेपालको राजधानी काठमाडौंमा स्वयंभू र बौद्धनाथ दुई स्थान छन् । यी दुवै युनेस्कोले विश्व सम्पदा सूचीमा दर्ज गरेको धार्मिक स्थल हुन् । यतिखेर स्वयंभू अतिक्रमको चपेटामा परेको छ ।
सरकारले चक्रपथ (रिङरोड) विस्तार गर्ने क्रममा स्वयंभू क्षेत्रको केही भाग भत्काउन लाग्दैछ । सडक विभागले विद्यमान सडकको दायाँ–बायाँ पचास फिट चौडा बनाउने योजना बनाएको छ । त्यसरी सडक बढाउँदा स्वयंभूको ऐतिहासिक ७५ फिट अग्लो विशाल बोधिचैत्यलगायत सम्पदा भत्किने छन् । त्यसैले सरोकारवाला समुदायले स्वयंभू विश्वसम्पदा क्षेत्र बचाऔं अभियान गठन गरी सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्वयंभू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले आइतबार (नोभेम्बर २९, २०२०) राजधानीको स्वयंभू परिसरमा पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराएको छ । ‘यहाँका हरेक चैत्य, स्तुपालगायत विधिवत ढंगले प्राण प्रतिष्ठा गरेर स्थापना गरिएका हुन्,’ अभियानका संयोजक तथा बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाले सम्बोधन गर्दै भन्नुभयो, ‘प्राण प्रतिष्ठा गरिएको हरेक वस्तु भगवान बुद्धका अंश हुन् । यसलाई नष्ट गर्नु पाप हुनेछ । त्यसैले सरकारले यी ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदालाई जोगाउनु पर्छ । त्यसो हुँदा धार्मिक सद्भाव कायम हुनेछ ।’
विभिन्न सामाजिक, धार्मिक, सांस्कृतिक संघसंस्थाहरू, गोन्पा, गुठी र व्यक्तिव्यक्तित्वहरूको यही मंसिर ५ गते स्वयंभूस्थित मनाङ सेवा समाजको गुम्बामा भएको भेलाले अभियान गठन गरेको जनाइएको छ । अभियानले काठमाडौं महानगरपालिका वडा नं.१५ मा रहेको यो स्वयंभू क्षेत्रलाई सुरक्षित राख्नु एकमात्र उद्देश्य राखेको छ । दैनिक हजारौंले यही चक्रपथमा ओर्लिएर स्वयंभूको दर्शन गर्ने, भ्रमण अवलोकन गर्ने गर्दछन् । सडक छेउमै ७५ फिट अग्लो बोधिचैत्य रहेको छ ।
आचार्य शेर्पाले भगवान बुद्धको महिमा बताइरहँदा पत्रकार सम्मेलन स्थलमै एकजना वयोवृद्धा महिला छेउमा आइपुग्नु भयो । उहाँको हातमा दुईवटा पोका थिए । एउटामा धूपीको धूप र अर्कोमा तेल रहेछ । चूपचाप छेवैको सानो स्तुपामा धूप बाल्नु भयो । तेल थम्नुभयो । अनि शिरको ह्याट झिक्नुभयो र शिर निहुरेर बुद्ध भगवानलाई आस्था चढाउनु भयो । त्यसपछि मैत्रेय बुद्धतर्फ अघि बढ्नु भयो । त्यो दृश्यले उपस्थित धार्मिक आस्थावानमात्र नभई सबैको ध्यान खिचेको थियो । यसरी स्वयंभूमा धाएर आस्था समर्पण गर्ने क्रम शताब्दीऔंदेखि निरन्तर छ । यदि सडक चौडा बनाउने हो भने यी स्तुपहरू, विशाल चैत्य भत्काइने छन् । र त्यतिखेर यी बुढिआमा मात्र होइन, आम बौद्धमार्गीको आस्थामा ठेस पुग्नेछ ।
‘विश्व सम्पदामा सूचिकृत स्वयंभू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुपा (साङ्गे तोङ्कु)समेत भत्काउन गइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा छ, ‘शाक्यमुनि बुद्धको जन्मभूमि नेपालमा विगतमा पनि कहिले नेपाली बौद्ध भिक्षुहरूलाई देश निकाला गर्ने, कहिले बौद्ध संस्कृति सम्पदाहरूमाथि अतिक्रमण गर्ने इतिहास निरन्तर दोहोरिरहेको स्मरण गराउँदै पछिल्लो समयमा विश्व सम्पदाले तोकेको स्वयंभू परिसरको क्षेत्र नै मिचिने गरी सडक विस्तार गर्ने कार्य धार्मिक, सांस्कृतिक सम्पदालाई सम्मान नगरिएको थप प्रश्न उब्जाएको छ ।’
चीन सरकारको सहयोगमा चक्रपथ निर्माण भइरहेको धेरै भइसक्यो । अझै सकिएको छैन । सडक विभागले चक्रपथलाई विस्तार कार्य जारी राखेको छ । अहिले कलंकीदेखि चाबहिल सम्मको सडक चौडा बनाइरहेको छ । आचार्य नुर्बु शेर्पाको हस्ताक्षर रहेको विज्ञप्तिमा छ, ‘त्यस क्षेत्रभित्र रहेका बुद्धका मूर्ति, हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बोधिचैत्य सहितको पर्खाल भत्काउने धार्मिक, सांस्कृतिक सम्पदा संरक्षण विरोधी कदम अविलम्ब रोक्न सरकार र सम्बन्धित निकायलाई विशेष आग्रह गर्दछौं ।’
यद्यपि बौद्धमार्गीहरू विकासको विरोधी नरहेको ऐतिहासिक साझा सम्पदाहरूको संरक्षणका निम्ति एकतावद्ध हुने जनाइएको छ । ‘युनेस्को, पुरातत्व विभागको स्विकृतिमा निर्माण गरिएका विश्व सम्पदा क्षेत्रका ऐतिहासिक, धार्मिक धरोहरहरूलाई जथाभावी भत्काउने, पुनःनिर्माण गर्ने, गराउने कार्य आफैंमा अन्तर्राष्ट्रिय सिद्धान्त, ऐन, मूल्यमान्यता र भावनाविपरीत कार्य हुने समेत स्मरण गराउँदछौं,’ भनिएको छ, ‘विकासको नाममा सडक विस्तारलगायत कुनै पनि पूर्वाधारहरू भत्काउँदा, पुनःनिर्माण गर्दा सबै धर्मावलम्बीहरूको धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाहरूलाई क्षति नपु¥याएर विकासका गतिविधिहरू गर्न गराउन हार्दिक अनुरोध गर्दछौं ।’ सरकारले तत्काल विकल्पसहित सडक विस्तार गर्नुपर्ने यदि बेवास्ता गरेमा चरणवद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिनेसमेत भनेका छन् ।
काठमाडौं महानगरपालिकाका–१५ वडाध्यक्ष ईश्वरमान डंगोलले विश्व सम्पदा संरक्षणप्रति महानगरको गम्भीर ध्यानाकर्षण रहेको बताउनु भयो । सडक विस्तारको काम केन्द्रीय सरकार मातहत सडक विभाग रहेको र स्वयंभूको सडरक रेखांकन कार्य २०२८ सालमै भएको जनाए । ‘उहाँहरूको मागप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको छ,’ उहाँले भन्नुभयो, ‘सडक थप चौडा बनाउने हो भने एउटा ऐतिहासिक स्तुपा भत्किने देखिन्छ । त्यसलाई जोगाउनको लागि संघीय सरकारसँग समन्वय गर्छौं ।’
पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, उपाध्यक्ष गोबिन्द छन्त्याल, महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, अभियानका सचिव तथा मनाङ सेवा समाजका अध्यक्ष सुनिल गुरुङ सम्पदा संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने नत्र सशक्त संघर्षमा उत्रिने चेतावनी दिनुभएको थियो । अभियानले मंसिर मसान्तभित्र प्रधानमन्त्रीको कार्यालयलगायतमा ज्ञापनपत्र बुझाउने, जनचेतनामूलक जागरण तथा प्रचारप्रसार, हस्ताक्षर संकलन, शान्तिपूर्ण दीप प्रज्ज्वलन, शान्तिपूर्ण मौन र्याली गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
तस्बिरहरु: गणेश वाम्बुले राई