आङ छिरिङ शेर्पा
मानिसको जीवनमा अनेक किसिमको दु:ख पीडाहरू आइपर्छन् । थाहा हुँदैन कसलाई कतिखेर कस्तो पीडा आइपर्छ भनेर । कतिपय गहिरो पीडामा डुबेकाहरू निराश जीवन बिताउँछन् । कतिपय पीडालाई पनि शक्तिमा बदलेर समय परिवर्तनमा लाग्छन् । जीवनमा गहिरो पीडामा डुबेर पनि गरिब दुखीहरूको मनमा हाँसो र खुसी ल्याइदिनेहरू पनि समाजमा छन् । आफूभित्र जस्तो पीडा भए पनि गरिब दुखीहरूको खुसी बनिदिने व्यक्तित्व बनेका छन्, दोर्जी छिरिङ शेर्पा ।
उनी विमान कम्पनीका सञ्चालक हुँदा कान्छी छोरी विमान दुर्घटनामा गुमाउनु परे पछि उनको परिवारले ठुलो पीडा भोग्नु पर्यो । त्यो घटनाले उनको परिवारमा दुखित तुल्याइरहेको बेला दोर्जीले भने पीडालाई बिस्तारै शक्तिमा बदले । सन् २०१० को अगस्ट २४ तारिखको दिन अग्नि एयरको विमानमा एयर होस्टेजको रूपमा कार्यरत उनको छोरी सारा शेर्पा रहेको जहाज लुक्ला जान लाग्दा प्रतिकुल मौसमको कारण फुल्चोकी नजिकै मकवानपुर जिल्लाको बस्तीपुरमा दुर्घटना भएको थियो । उक्त दुर्घटना भएको जहाजमा ८ जना नेपाली र ६ जना विदेशी थिए । घटना लगतै दोर्जी दम्पती आफ्नो छोरीको शव खोजीको क्रममा मकवानपुर पुगेका थिए ।

फाउन्डेसनले अहिलेसम्म मकवानपुरको १४ विभिन्न क्षेत्रमा विद्यालय स्थापना गर्नुको साथै स्वास्थ्य केन्द्र स्थापना गरिदिएका छन् । यसको साथै त्यस भेगमा विद्यालयमा आवश्यक शिक्षक समेत खोजिदिने कार्य गर्दै आइरहेका छन् । फाउन्डेसनले गोर्खा जिल्लामा ४ कोठाको स्वास्थ्य केन्द्र बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरिदिएको छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि कपडा र कपि कलम समेत वितरण गरेको फाउन्डेसनका अध्यक्ष दोर्जी छिरिङले बताए ।

फाउन्डेसनले अहिले काठमाडौँको विभिन्न स्थानमा रहेका दृष्टिविहीन बालबालिकाहरू मध्ये ८ जनालाई उच्च शिक्षाको सहयोगको लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले र ८ जनालाई १ हजारको दरले आर्थिक सहयोग गरिरहेको छ । केही समय छोरी गुमेको पीडामा बिताएका बाबुआमाले त्यस लगतै सामाजिक सेवाको भावनाले यहाँसम्म आइपुगेकोमा आनन्दानुभूति भएको बताउँछन् । ‘ छोरिको सम्झनामा स्थापित फाउण्डेसन मार्फत विद्यालय, स्वास्थ्य केन्द्र र बाटोको निर्माणको साथै दृष्टिविहिन र शारिरिक अशक्तहरुको लागि सहयोग गर्न पाउँदा थप आनन्द अनुभव भइरहेको छ’ दोर्जिछिरिङले एभरेष्टटाइम्सलाई बताए । । फाउन्डेसनले दृष्टिविहीन बालबालिकाहरूको शैक्षिक प्रगति विवरणको आधारमा उच्च अध्ययनसम्मको लागि सहयोग गर्ने योजना बनाएको उनले बताए ।

‘बिहान उठ्ने बित्तिकै सहयोग चाहिनेहरूले फोन गर्छ, त्यसपछि उनीहरू बसेको ठाउँमा पुगेर सहयोग दिन पाउँदा मन धेरै खुसी हुन्छ’ उनले भने, ‘साथीहरू र चिनेका नजिकका मानिसहरूले सम्पर्क गरेर सहयोग दिन थालेपछि अब गरिब दुखीलाई निरन्तर सहयोग गर्न सकिने भएको छ ।’ पर्यटन व्यवसायमा लामो समय काम गरिसकेर समाजसेवामा लागेका दोर्जी अहिले विपस्याना ध्यान केन्द्रको प्रशिक्षक समेत भएका छन् । सामाजिक सेवासंगै सुखी जीवन जिउने ज्ञान दिदै आएका उनले सोलुखुम्बुको लुक्लामा १८ रोपनी जग्गामा चाडै विपस्याना ध्यान केन्द्र बनाउन लागेको जानकारी दिएका छन् ।


तस्विरहरु दोर्जिछिरिङ शेर्पाको फेसबुकबाट