- शन्तलाल रिसाल
नेपाल इतिहासकै सबैभन्दा कठिन घडीमा छ । नेपाली जनतालाई गणतन्त्र आएपछि नेपाल सुखी र समृद्धि हुने जुन सपना बाँडिएको थियो त्यो गलत सावित भएको छ । गणतन्त्र नेताहरुलाई मात्रै भयो जनतालाई भएन । जनताको दिनचर्या झन् झन् कठिन अवस्थामा पुग्यो । देश इतिहासमै संकटमा परेको छ । सत्तारुढ दल नेकपालाई जनताले अत्यधिक बहुमत दिएर सत्ता चलाउन दिएको म्यान्डेट बोकाको मुखमा कुभिन्डो सावित भएको छ ।
देश चलाउन यो दल पूर्णरुपले असफल भएको छ । नेकपाको नेताहरु पदको लुछाचुँडीमा छन् । उनीहरुको आन्तरिक झगडाले मुलुकको अस्तित्व नै खतरामा पर्ने अवस्थामा पुगेको छ । अब जनताले विकल्प नदिने हो भने कुनै पनि बेला नेपाल असफल राष्ट्रमात्र होइन विदेशी हस्तक्षेपको शिकार हुने खतरामा छ । सक्षम र इमानदार नेता नहुँदा यस्तो अवस्था आएको हो । ओली सरकार निकम्मा सावित भइसकेको छ ।

तत्कालीन कांगेस सभापति गिरिजाप्रसाद कोइरालाले बीपीको मेलमिलाप नीति विर्से । राष्ट्रपति खान पाउने भनी भारतले देखाएको लोभमा माओवादीसित लागेर राजतन्त्र फाले । राजतन्त्र फाले पनि उनी राष्ट्रपति हुन पाएनन् । राजतन्त्र फाल्नु, हिन्दु राष्ट्र हटाउनु गिरिजा र प्रचण्डको सबैभन्दा ठूलो अपराध थियो । नेपाललाई जोगाइ राखेका यी दुई स्तम्भ राजतन्त्र र हिन्दु राष्ट्र हटाएपछि मुलुकको विजोग भएको छ । मुलुक अभिभावकबिहीन अवस्थामा छ । नेकपाका नेता पद र भ्रष्टाचारमा लिप्त छन् । देश र जनताको कत्ति पनि चिन्ता छैन । सत्ताको मात लागेका नेताहरुले विलासी जीवन विताइरहेका छन् । पदका लागि आपसमै झगडा गरिहेका छन् । पद खान पाए सबै मिल्छन् । धर्म , इज्जत, नैतिकता नभएका यस्ता नेताहरुबाट नेपाली जनताले के आशा गर्ने ?
अहिले राष्ट्रवादी नेपालीहरु देशव्यापी रुपमा जुर्मुराएका छन् । देशका प्रमुख सहर बजारमा राजा आउ देश बचाउ भन्दै गणतन्त्र खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनःस्थापनाको नारा लगाइरहेका छन् । राजधानी काठमाडौँमा समेत ओली सरकारको चेतावनीलाई बेबास्ता गर्दै विशाल प्रदर्शन गरेका छन् । यो प्रदर्शनदेखि अत्तालिएको ओली सरकारले सर्वदलीय वैठक गरी राष्ट्रवादीहरुको आन्दोलन दवाउन सहयोग माग गरेको छ । ओली सरकार यो आन्दोलनदेखि डराएको छ । जनताले राष्ट्रवादीहरुलाई साथ दिन थालेका छन् । राप्रपाले पनि राष्ट्रवादीको आन्दोलनलाई समर्थन गरेको छ । आन्दोलन चर्किदै जाँदा नेपाली काँग्रेसभित्र पनि यसको पक्ष विपक्षमा बहस सुरु भएको छ । कम्युनिस्टको सरकार फालेर राष्ट्रवादीहरुको आन्दोलनलाई साथ दिनुपर्ने आवाज पनि त्यहाँ उठेको छ । कम्युनिस्ट सरकारले मुलुक वर्वाद पारेकाले अव विकल्प सोच्नै पर्ने भएको छ । मुलुक आर्थिक हिसाबले टाट पल्टने अवस्थामा पुगेका छ । विदेशी सहयोग रोकिएको अवस्था छ । जनता चरम महंगीको मारमा परेका छन् । उद्योगधन्दा , कलकारखाना बन्द छन् । मुलुक अस्तव्यस्त छ । अब राष्ट्रवादीहरुसँग मिलेर काँग्रेसले बीपीको मेलमिलाप नीतिलाई आत्मसात् गर्दै हिन्दु राष्ट्र र राजतन्त्र फर्काएर मुलुकलाई निकास दिनुपर्छ नत्र काँग्रेसको भविष्य पनि संकटमा पर्नेछ ।
कम्युनिस्टले मुलुक चलाउन र मुलुकलाई सुरक्षित बनाउन सक्दैनन् भन्ने कुरा घाम जत्तिकै छर्लंग भएको छ । जनतालाई नक्कली सपना बाँडेर मुलुक लुट्न आएका उनीहरुले मुलुक तहसनहस पारे । अर्बौको भ्रष्टाचार गरी मुलकलाई खोक्रो पारे । हत्या,हिंसा र आतंकमात्र मच्चाए । १७ हजार भन्दा बढी नेपाली मारेका कम्युनिष्टहरुलाई जनताको कुनै माया छैन । यी हत्याराहरुलाई कडा कारबाही गर्न पनि व्यवस्था परिवर्तन आवश्यक छ ।
गणतन्त्र नेपालका लागि सेतो हात्ती सावित भएको छ । यो व्यवस्था नेपालले धान्नै सक्दैन । मुलुकको सबै ढुकुटी नेताहरु पाल्नमै खर्च हुने भएको छ । जनता क्रृणमा डुबेका छन् । स्वास्थ्य र शिक्षा जनताको पहुँच बाहिर छ । बेरोजगारी समस्या चरम अवस्थामा छ । स्वास्थ्य र शिक्षामा व्यापक विकृति र विसङ्गति किन आयो ? किन स्वास्थ्य र शिक्षा सेवा आम नागरिकको पहुँच बाहिर गयो ? चरम महँगो भयो ? जताततै यस्तै प्रश्न गरिएको छ । मूलतः विगतमा अस्थिर राजनीति र अस्थिर सरकारका कारण औद्योगिक वातावरण नै बनेन । मुलुकका उद्योग कलकारखाना धमाधम बन्द भए । सरकारी उद्योग अन्धाधुन्ध निजीकरण गरियो । राज्य कमजोर भयो । लगानी वातावरण नभएपछि उद्योगी व्यवसायीले उद्योग क्षेत्रबाट हात झिके । केहीले विदेशतिर लगानी लगे भने केहीले शिक्षा र स्वास्थ्यमा लगानी गरे । उनीहरुको लगानीसँगै शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सुरु भयो । व्यापारीकरण सँगसँगै चरम विकृति र विसङ्गतिले शिक्षा र स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ । आम नेपाली जनता स्वास्थ्य र शिक्षाकै लागि चिन्तित छन् । उनीहरुको कमाइको अधिकांश अंश स्वास्थ्य र शिक्षाका लागि खर्च गर्नुपर्ने अवस्था छ । निजी अस्पताल र निजी स्कुल सेवामुखी होइन नाफामुखी बने । सङ्कटको बेला पनि सहयोगी र सेवामुखी बनेनन् । आज नागरिकको जीवनमाथि खेलवाड गरे । कोरोना सङ्कटमा निजी अस्पताले बिरामीको उपचार नगरेकै कारण कतिपयले अकालमै ज्यान गुमाउनु परेको यथार्थ लुकेको छैन ।
इतिहासको एक कालखण्डमा नेपाल हरेक कुरामा आत्मनिर्भर थियो । आफ्नै किसिमको आत्मनिर्भर अर्थतन्त्र थियो । राजनीतिक घटनाक्रम र सत्ता फेरिँदै जाँदा अधिकारका आन्दोलनले पुराना सत्ताका राम्रा कुरालाई पनि विस्थापित गर्दै गयो, आत्मसात् गरिएन, जोगाइएन । मुलुकको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्र तहसनहस भयो । कम्युनिस्टका दलालहरुले कृषियोग्य भूमि प्लटिङ गरी सिद्धाए । किसान र मजदुरको हित गर्ने नारामात्र दिए । उनीहरुको हितमा कुनै कामै गरेनन् ।
अतः गणतन्त्र र कम्युनिस्ट शासनले नेपालको हित गर्न सक्दैन भन्ने कुरा घटनाक्रमले पुष्टि भएको छ । अब काँग्रेसले हिजोका गल्ती सच्चाएर बीपीको मार्गमा हिँड्नुपर्छ । राष्ट्रवादी र काँग्रेस मिलेर राजतन्त्र र हिन्दु राष्ट पुनः स्थापना गरी मुलुकलाई सही निकास दिनुपर्छ । यसैमा मात्र नेपाल र नेपालीको भविष्य सुरक्षित हुनेछ । प्रजातान्त्रिक शक्ति काँग्रेसलाई विश्व समुदायले विश्वास गर्ने भएकाले पनि राष्ट्रवादीहरुसँग मिल्ने हो भने मुलुकको पनि हित र काँग्रेसको पनि हित हुनेछ । कम्युनिस्टहरुसित मिल्नु काँग्रेसको ऐतिहासिक गल्ती थियो । अव पाठ सिकेर गल्ती सच्याएर मुलुकलाई पुरानै अवस्थामा फर्काउनु पर्छ ।
–न्यूयोर्क, अमेरिका