न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप सार्वजनिक रुपमा लगाएका छन् । उनले खोप लगाउँदै गरेको फोटो तथा भिडियो सार्वजनिक भएको थियो ।
यसअघि उनले जनमानसमा खोपप्रति विश्वास बढाउने हेतु आफुले खोल लगाउने बताएका थिए ।
समाचार अनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खोप लगाएका हुन् । उनले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप लगाएको बताइएको छ ।
अमेरिकामा यसअघि नै फाइजरको खोप लगाउन सुरु गरिसकिएको छ । बाइडेनले खोप सुरक्षित रहेको सन्देश दिन खोप लगाउने निर्णयमा पुगेको जनाए । बाइडेनले सामाजिक सञ्जालमार्फत आफूले कोरोना खोप लगाएको जानकारी दिँदै लगातारको मेहनतपछि खोप निर्माण गर्ने वैज्ञानिक र अनुसन्धानकर्मीलाई समेत धन्यवाद दिएका छन् । साथै उनले अमेरिकी नागरिकलाई चिन्ता नलिन आग्रह गर्दै कोरोना खोप उपलब्ध भएपछि लगाउन पनि अनुरोध गरेका छन् ।