काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल– माधव नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको सो पक्षका पूर्वसांसद् र सांसदको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको निवर्तमान सांसद देवप्रसाद गुरुङले जानकारी दिए ।
बैठकमा अर्का पार्टी अध्यक्ष माधवकुमार नेपालले मङ्गलबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयका बारेमा पूर्वसांसद र सांसदलाई जानकारी गराएका थिए । केन्द्रीय कमिटीको मङ्गलबारको बैठकले ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरी नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको थियो । बैठकमा राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका ११५ जना सदस्यको उपस्थिति रहेको बताइएको छ ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको र राष्ट्रपतिबाट सिफारिस अनुमोन गरेपछि दाहाल–नेपाल समुह र ओली पक्षको छुट्टछुट्टै बैठक बस्दै आएको छ । ओलीले आफु नै संसदीय दलको नेता भएको दावी गर्दै आएको छ भने अर्को पक्षले दाहाललाई नेता चयन गरेको हो ।