१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

अन्तत् काँग्रेस आन्दोलनमा, १३ गते देशभर प्रदर्शन गर्ने



काठमाडौं । दुई दिनसम्मको बैठकले पनि संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलन गर्ने की नगर्ने भन्ने दोधारमा रहेको नेपाली कांग्रेस अन्तत् आन्दोलनको पक्षमा उभिएको छ ।

बिहीबारको केन्द्रीय कमिटीको बैठकले संसद बिघटनबिरुद्ध पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । यसअघि सभापति देउवा पक्षीय नेताहरुले चुनावलाई उपयोग गर्नुपर्ने राय राखेपछि आन्दोलन घोषणा हुन सकेको थिएन ।

बिहीबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाले चरणबद्ध आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । आन्दोलन पक्षधर नेताहरूको राजधानीको अनामनगरमा गरेको भेलाले जारी केन्द्रीय कमिटी बैठकमा आन्दोलन पक्षधरको एउटा आवाज बनाउने पनि निर्णय गरेको थियो ।

भेलाले पुस १३, १४ र १५ गते जिल्लाव्यापी प्रदर्शन, त्यसपछिका तीन दिन संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन, तेस्रो चरणमा पालिकास्तरीय र चौथोमा वडास्तरमा विरोध कार्यक्रम गर्नुपर्ने ठहर गरेको थियो ।

भेलामा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, गगन थापालगायत २२ केन्द्रीय सदस्य सहभागी थिए । भेलाको दवावले कांग्रेस आन्दोलनमा गएको हो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ४ : ४३ बजे