वासिङ्टन । हिंसालाई प्रोत्साहन गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरेको छ ।
महाभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ । ट्रम्पबिरुद्ध यो दोस्रो महाभियोग प्रसिताव हो ।
राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन सभामुख नान्सी पेलोसीले जोड दिएकी छिन् । डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पले विद्रोह गरेको र भीडलाई हिंसात्मक क्रियाकलाप गर्न उक्साएको उल्लेख गर्दै महाभियोग वा अमेरिकी संविधानको २५औं संशोधनबाट पदबाट हटाउनुपर्ने बताउँदै आएको छ ।
कार्यकाल सकिनु ८ दिनभन्दा अघि संसद्मा महाभियोग प्रस्ताव पेस भएकाले पनि यो प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेमा भने शंका व्यक्त गरिएको छ । पछिल्लो पटक पनि ट्रम्पले महाभियोग सामना गरेका थिए । तर उनीविरुद्धको महाभियोग प्रस्ताव पास भएको थिएन ।
अमेरिकी संविधानबमोजिम ट्रम्पलाई महाभियोग लगाएर हटाउनका लागि संसद्मा मतदान हुनुपर्छ । त्यसमा अमेरिकी संसद्को दुई तिहाई मतले उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्नुपर्नेछ । त्यसका लागि ट्रम्पकै पार्टी रिपब्लिकनका अधिकांश सांसदहरुले पनि उनीविरुद्ध मत दिनुपर्ने अवस्था आउनेछ ।