१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

दाहाल–नेपाल समुहले ओलीलाई पार्टी सदस्यबाट निष्कासन गरे



काठमाडौँ । सत्तारुढ दल नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष ओलीले पार्टीको नीति विपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ गते पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधेको थियो । तीन दिने समय दिएर स्पष्टिकरण सोधिएकामा उत्तर नदिएको भन्दै निस्कासन गरिएको हो ।

पार्टी भित्र ओली र दाहाल–माधव समुहबीच विवाद बढुदै गएपछि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेका थिए । त्यसही दिन बसेको दाहाल–नेपाल समुहको बैठकले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई दाहालसँगै अध्यक्ष तोकेको थियो ।

निर्वाचन आयोगद्वारा दुवै पक्षको दावी अस्वीकार

यसैबीच नेकपाभित्रको विवादमा निर्वाचन आयोगले दवै पक्षको आधिकारिकताको दावीलाई अस्वीकार गरेको छ । ओलीले एकलौटी रुपमा केन्द्रीय कार्यसमितिमा मनोनयन गरेर आफ्नो पक्ष बहुमत बनाएको थियो भने दाहाल–नेपाल पक्षले ओलीलाई कारवाहि गर्दै आफुहरु आधिकारिक भएको दावी गरेको थियो ।

आयोगले भने दुवै पक्षको दावी अस्वीकार गर्दै पुरानै अबस्थामा रहेको जनाएको छ । पुरानो विधान अनुसार नेकपाका अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड छन् । दुवै जनाको संयुक्त हस्ताक्षरबाट मात्र निर्वाचन आयोगमा लेखापढी हुन्छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : २१ बजे