१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

१६ लाख ज्येष्ठ नागरिकले  लगाए खोप



काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ जेष्ठ नागरिकले खोप लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा  व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिएका हुन् । सरकारले गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका २२ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको थियो ।
उनले खोप अभावका कारणले खोप अभियानलाई अहिलेका लागि स्थगन गर्नुपरेको जानकारी दिए । “हामी निरन्तर खोप अभियान गर्ने तयारीमा रहेका थियौं, उनले भने, “तर खोप अभाव भएपछि अहिलेका लागि अभियान स्थगन गरेका छौं ।”
विभागले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेपछि ५५ वर्ष भन्दामाथिका र दीर्घरोगीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । भारतस्थित सिरम इन्स्टिच्युट अझ इण्डियाबाट खरिद गरिएको १० लाख मात्रा खोप नआएपछि खोप अभियान स्थगन गरिएको हो ।
अहिलेसम्म भारत सरकारबाट अनुदानमा १० लाख मात्रा र नेपाल सरकारले आफैं खरिद गरेको १० लाख मात्रा खोप ल्याई लगाइएको छ । यसअघि पहिलो चरणमा सञ्चालन भएको खोप अभियानमा चार लाख २९ लाखले खोप लगाएका थिए ।
खोप शाखाका प्रमुख डा गौतमले सरकारसँग अझै सात लाख मात्रा खोप मौज्दात रहेको जानकारी दिए । उनका अनुसार मौज्दात खोप पहिलो चरणमा लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिनका लागि राखिएको छ । दोस्रो मात्रा आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ६ : १८ बजे