२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

राष्ट्रपति भण्डारी ढाकामा, यस्तो छ दुई दिनको कार्यक्रम



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा सोमबार बिहान राजधानी ढाकामा गरेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा पुगेकी हुन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट त्यहाँ पुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो । राष्ट्रपति भण्डारीले त्यसपछि यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिन् । त्यहाँ उनले वृक्षरोपण पनि गरिन् ।

राष्ट्रपति भण्डारी मंगलबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन् । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी पुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायत छन् ।

यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा छन् । भ्रमण दलमा कलाकार अशोकुमार राईका नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी पनि छन् ।

यस्तो छ राष्ट्रपति भण्डारीको दुई दिनको कार्यक्रम
– सोमबार बिहान राष्ट्रपति भण्डारीलाई ढाका विमानस्थलमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले स्वागत गर्ने
– विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशका सहिदहरूलाई श्रद्धाञ्जली दिन र माल्यार्पण गर्न जाने
– त्यसपछि होटलमा फर्कने र आराम गर्ने
– होटलमा पहिला बंगलादेशका विदेशमन्त्री शिष्टाचार भेटका लागि आउने
– त्यसपछि प्रधानमन्त्री सेख हसिनाले राष्ट्रपति भण्डारीसँग होटलमै शिष्टाचार भेट गर्ने
– बेलुकी राष्ट्रपति भवन बंगमा राष्ट्रपति हमिदसँग भेटवार्ता
– सोही भेटमा दुई पक्षीय सम्झौताहरू हुने
– त्यसपछि राष्ट्रपति होटलमा फर्कने
– मंगलबार बिहान ढाकास्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रम र दिवाभोजमा सहभागी हुने
– त्यसपछि मंगलबार दिउँसो काठमाडौं आउने

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १ : १८ बजे