१४ मंसिर २०८०, बिहिबार | Thu Nov 30 2023

नेपालमा कोरोना सङ्क्रमित बढ्यो, उच्च सतर्कता



काठमाडौँ । विश्वव्यापी रूपमा फैलिएको कोरोनाको सम्भावित दोस्रो लहरको कारण नेपालमा उच्च सतर्कता अपनाउन थालिएको छ । छिमेकी मुलुक भारतमा दैनिक झन्डै ५० हजारको सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएको र भारतमा रहेको नेपालीहरू नेपालतर्फ आउन थालेपछि उच्च सतर्कता अपनाउन थालिएको हो ।
पछिल्लो केही महिना दैनिक सय भन्दा कम सङ्क्रमित देखिन थालेपछि नेपालका सबै सार्वजनिक सेवाहरू सुचारु भइसकेको थियो । मानिसहरू सामान्य दैनिकीमा फर्किन थाली सकेका थिए । तर पछिल्लो केही दिनयता नेपालमा सङ्क्रमण दैनिक डेढ सयको सङ्ख्यामा देखिन थालेको छ भने अस्पताल भर्ना बढेको छ ।
उच्च सतर्कता अपनाउन निर्देशन 
स्वास्थ्य मन्त्रालयले मङ्गलवार र बुधवार सूचना जारी गरेर सतर्कता अपनाउन, भिडभाड नगर्न, मास्क लगाउन र पटक पटक साबुन पानीले हात धुन अपिल गरेको छ । साथै देशभर रहेको कोरिन्थिन तथा कोभिड अस्पतालहरू तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।
भारतबाट आउने नाकाहरूमा हेल्थ डेस्क पुन सुरु गरिएको छभने ज्वरो नाप्ने काम सुरु भएको छ । ज्वरो देखिएमा कोरोना परीक्षण गरिने भएको छ । साथै विदेशबाट आउनेहरूको लागि कोरिन्टिनको व्यवस्था गरिएको छ ।
कतिपय स्थानी निकायले विदेशबाट आउनेका लागि दश दिने कोरिन्टिनको लागि सम्पर्क गर्न सूचना नै जारी गरेको छ । यसअघि कोरोनाको सङ्क्रमण फैलिएको बेला पनि लकडाउन गरिएको थियो । साथै विदेशबाट आउनेहरूलाई कोरिन्टिनमा राख्ने, कोभिड भएकालाई आइसोलेसनमा राख्ने तथा उपचार गर्ने काम भएको थियो ।
लकडाउनको त्रास
बुधवार स्वास्थ्य मन्त्रालयले सर्वसाधारणले स्वास्थ्य उपायहरू नअपनाए र सङ्क्रमण भयाभह भएमा लकडाउन भन्दा अर्को उपाय नभएको उल्लेख गरेपछि पुन लकडाउनको त्रास बढेको छ । यद्यपी तत्काल लकडाउन हुने अवस्था भने आइ सकेको छैन ।
गत चैतदेखि दश महिना लकडाउन हुँदा व्यापार व्यवसाय चौपट भएको थियो भने जनजीवन अस्तव्यस्त भएको थियो । गरी खाने वर्गले धेरै सास्ती खेप्नु परेको थियो ।
काठमाडौँ जिल्ला प्रशासनलगायतले सूचना जारी गरेर सार्वजनिक स्थानमा मास्क नलगाउने तथा स्वास्थ्य मापदण्ड नअपनाउनेलाई कारबाहीको चेतावनीसमेत दिएको छ । साथै नजिकिँदै गरेको होली सार्वजनिक रूपमा नमनाउन पनि आग्रह गरिएको छ ।
कोरोना महामारीको पनि महामारीः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भयावह हुन नदिन सरकार सतर्क रहेको बताएका छन् । कोरोना महामारीको पनि महामारी भएको बताउँदै उहाँले भन्नु भयो । यो फर्की फर्की आउने महामारी भएको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने कार्य गरेर सङ्क्रमणलाई सून्य तुल्याउनु यसको सबै भन्दा प्रभावकारी विधि रहेको धारणा उनको थियो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए ।
‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या होकी ? स्थिति भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ प्रधानमन्त्रीले थपे,  ‘अहिले स्थिति भयावह नभए पनि यसको अर्को जेनेरेशन चाहिँ अझ बढी खतरनाक ढङ्गले अर्कै प्रकृतिमा पैदा भएको छ ।’

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १२ : १४ बजे