४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

रायमाझी, भट्ट, साह र चौधरीको पद गयो , अव बढीमा ६ महिना मात्रै मन्त्री



काठमाडौँ । माओवादी केन्द्रबाट निर्वाचित भएर एमालेमा प्रवेश गरि मन्त्री बनेका चार सांसदको पद खारेज भएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद खारेज भएको हो ।

राष्ट्रिय सभाका सदस्य गृह मन्त्री रामबहादुर थापाको भने अझै खारेजीको सिफारिस गइसकेको छैन। गृह मन्त्री रहेका थापा माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसदले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धि ऐनअनुसार उनीहरूलाई सांसदबाट हटाउन माओवादी केन्द्रले सूचना दिएको जानकारी संसद सचिवायमाल आएको प्रतिनिधिसभालाई जानकारी गराएका थिए ।

मन्त्री रहेका चारैजना सांसदले मन्त्रीमै रहिरहनका निम्ती फेरि शपथ लिनुपर्ने हुन्छ । संविधानमा सांसद् नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री हुन पाउने व्यवस्था छ । अव उनीहरु छ महिना मन्त्री रहन सक्छन् ।

त्यस्तै, ६ महिनाभन्दा बढी प्रतिनिधिसभाको कार्यकाल रहने अवस्थामा रिक्त सांसद् पदका लागि उपनिर्वाचन हुने पनि संवैधानिक व्यवस्था छ । त्यसअनुसार रिक्त रहेका सांसद पदमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।

सांसद पद रिक्त रहेको सूचना संघीय संसद् सचिवालयले निर्वाचन आयोगलाई दिएपछि उपनिर्वाचनको प्रक्रिया अगाडि बढ्नेछ ।

फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएर नेकपाको आधिकारीकता ऋषि कट्टेललाई दिएपछि यी चार सांसद एमालेतिर लागेका थिए । माओवादी केन्द्रले एमालेतिर लागेका प्रदेश सभा सदस्य र संघीय सांसदहरूलाई पदमुक्त गर्नका लागि सम्बन्धित निकायमा लेखिपठाएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ५ : ०१ बजे