कोरोना कहर: भारतमा एकैदिनमा एक लाख ३२ हजार सङ्क्रमित, ब्राजिलमा ४२ सयको मृत्यु

२०७७ चैत्र २७, शुक्रबार १४:३६

नयाँ दिल्ली (एजेन्सी) । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ । यो सङ्ख्या अहिले बढेर झण्डै एक लाख ३२ हजारमा पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा एक लाख ३१ हजार ९६८ पुगेको हो ।भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३० लाख ६० हजार ५४२ पुगेको अधिकारीहरुको भनाई छ ।

यही हप्ता दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी पुगेको शुक्रबार चौथो पटक हो । यसअघि गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए भने बुधबार एक लाख १५ हजार ७३६ जना सङ्क्रमित भएका थिए ।

त्यसैगरी बिहीबार एक लाख २६ हजार ७८९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको थियो । भारतमा पछिल्लो २४ घण्टामा ७८० जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या एक लाख ६७ हजार ६४२ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेपनि नौ लाख ७९ हजार ६०८ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल एक करोड १९ लाख १३ हजार २९२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।

ब्राजिलमा कोरोनाका कारण एकैदिनमा ४२ सयको मृत्यु

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ४५ हजार २५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ । यसअघि गत मङ्गलबार ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।

सरकारी अधिकारीहरुले अप्रिल महिनामा कोरोनाका कारण नराम्रो क्षति धेरै वेहोर्नु पर्ने अवस्था रहेको बताएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८६ हजार ६५२ जना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । योसँगै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या एक करोड ३२ लाख ७९ हजार ८५७ पुगेको छ ।

ब्राजिलमा मध्य जनवरीदेखि कोरोनाभाइरस विरुद्ध खोप अभियान सुरु भएको छ । तर सङ्क्रमित र मृतकको सङ्ख्यामा भने कमी आएको छैन । देशभरी अहिलेसम्म दुई करोड ७५ हजार ११ हजार ५३७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको सूचीमा ब्राजिल दोस्रो क्रममा रहेको छ । ब्राजिलमा भन्दा धेरै अमेरिकामा कोरोनाको असर परेको छ । हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको विज्ञहरुको दाबी रहेको छ ।

तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन् । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ ।

सम्बन्धित समाचार