६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एकै दिन कोरोनाबाट ८ को मृत्यु, नयाँ भेरियन्टको कोरोना नेपालमा



काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ५५९ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ पीसीआर र एन्टिजेन परीक्षण भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको पीसीआर र एन्टिजेन परीक्षणमा थपिएका ५५९ नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना संक्रमित निको भएका छन् । मुलुकभर ८५ जना क्‍वारेन्टाइनमा र ३ हजार ३ सय ६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म २३ लाख १७ हजार २ सय ८४ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

राससले दिएको सामाचार अनुसार नेपालमा कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेको छ । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गरे । “पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ”, उनले भने, “त्यसैले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ ।”

भाइरसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृत्यु हुने दर पनि बढिरहेको उनको भनाइ छ । सङ्क्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ । सङ्क्रमणबाट बच्न खोपभन्दा पनि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुनु पर्दछ ।

अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले मापदण्ड पालना नगर्दा अहिलेको भाइरस देखिएको बताए । उनका अनुसार विद्यालय, भीडभाड हुने ठाउँ, पार्टीप्यालेस, गाडी जस्ता ठाउँबाट भाइरस फैलिने गरेको बताए ।

अहिले देखिएको भाइरस बालबालिका, युवा र ५० वर्षमुनिका व्यक्तिलाई पनि देखिने गरेको छ । पछिल्लो एक महिनादेखि यस कडाखालको भाइरसले गर्दा बिरामी पनि ह्वात्तै बढेको पाइन्छ । नयाँ खालको भाइरसले गर्दा अहिले दैनिक सङ्क्रमित बढिरहेका छन् । हिजो मात्र ३०३ जना सङ्क्रमित देखिएका छन् ।

अहिले देशभर ८९ जना सघन उपचार कक्ष (सघन उपचार केन्द्र) र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँका सशस्त्र प्रहरी बल अस्पतालमा आइसियुमा नौ, नेपाल प्रहरी अस्पतालमा एक, शुक्रराज ट्रपिकलमा आठ, त्रिवि शिक्षण अस्पतालमा दुई, पाटन अस्पतालमा तीन, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छ र हम्स अस्पतालमा नौ जनाको उपचार गराइरहेका छन् ।

भाइरस पत्ता लगाउन जीन सिक्वेन्सिङ

अहिले नेपालमा देखिएको भाइरस नयाँ खालको भए पनि कस्तो किसिमको हो भन्ने अझै पत्ता लागिसकेको छैन । “नमूना परीक्षणमा भाइरसको नयाँ प्रकारको मात्रा देखिएको छ” उनले भने, “परीक्षणका क्रममा भाइरसको ‘एस’ जीन नेगेटिभ देखिएकाले भाइरस साँच्चीकै नयाँ भाइरस भन्ने छ । अणुवांशिक (जीन सिक्वेन्सिङ)को पूरा मात्रा परीक्षण गरेर कस्तो भाइरस हो भन्ने पत्ता लाग्दछ ।”

नेपालमा यस खालको भाइरसको जीन सिक्वेन्सिङको पूरा मात्राको परीक्षण गर्न जनशक्ति र प्रयोगशाला नभएको उनले जानकारी दिए । उनका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका उपकरणले भाइरसको जीन सिक्वेन्सिङ गर्ने तयारी भइरहेको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जीन सिक्वेन्सिङको परीक्षणका लागि उपकरण ल्याउन थालिएको जानकारी दिए । उनले उपकरण आइसकेपछि एक हप्तामा जीन सिक्वेन्सिङको परीक्षण नेपालमा हुने जानकारी दिए । अहिले विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा जीन सिक्वेन्सिङका लागि हङ्कङमा नमूना पठाइने गरिएको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : २३ बजे