२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन आग्रह



काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बिहीबार बसेको महासङ्घ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहसँग मागसमेत गरेको छ ।

समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्नुपर्ने महासङ्घको भनाइ छ ।

महासङ्घले कोभिड–१९ को दोस्रो लहरको प्रारम्भिक स्वरुप विश्लेषण गरी सञ्चार क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने आँकलन गर्दै अनुगमन समिति गठन गरेको छ । समग्र विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जिएम, सचिव पवन आचार्य र नारायणसुन्दर किलम्बुका साथै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्य रहेको समिति गठन गरिएको हो ।

त्यसैगरी कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न समिति गठन गरिएको छ । महासचिव रोशन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईं, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्य शान्तराम बिंडारी, विकास कार्की, रामकृष्ण अधिकारी, मणि दाहाल र कृति भट्टराई सदस्य रहेको समिति गठन गरिएको हो ।

बैठकले केन्द्रीय समितिले गठन गरेको समितिसँग समन्वय गरी कोभिड–१९ को दोस्रो लहरबाट प्रदेश र जिल्लामा उत्पन्न हुनसक्ने समस्या र चुनौती सामना गर्न महासङ्घको प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखालाई सक्रियरुपमा काम गर्न निर्देशन गरेको छ । सम्भावित जोखिमबाट सञ्चार क्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि पनि सरकारसँग विशेष आग्रह गरिएको छ ।

सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन र कोभिडविरुद्धको लडाईंमा अग्रभागमा रहेर काम गर्ने पेशाकर्मीका नाताले विशेष प्रोत्साहन गर्न महासङ्घले विशेष आग्रह गेको छ । बैठकले सबै आमसञ्चारकर्मीमा महामारीको यो कठिन समयमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्दै जनताको सुसूचित हुने अधिकारको प्रत्याभूतिका लागि अग्रभागमा रहेर कर्तव्य पालना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : ५२ बजे