काठमाडौँ । सरकारले बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा दुई साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै धेरै जनामा काठमाडौं उपत्यका छोड्ने हतारो देखिएको छ ।
संक्रमण तीव्र भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका छाड्न चाहनेलाई दुई दिन समय राखेर निषेधज्ञा लगाउने निर्णय गरेको हो । काठमाडौं उपत्यका मुलुककै सबैभन्दा धेरै बाहिरबाट आएर बसोबास गर्ने मानिस भएको स्थान हो ।
सर्वसाधारण चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरीका अनुसार दुई दिनमा झण्डै दुई लाख जनाले उपत्यका छाडेका छन् ।
उपत्यका छाडेर घर जान चाहनेले सवारी साधन नपाएर नाकाहरुमा लामो लामो लाइन देखिएको छ ।
यस पटक दुई सातालाई निषेधज्ञा लगाउने भनिए पनि यो बढ्ने आशंकाले धेरै मानिस आफ्नो थातथलो जान लागेका हुन् । यसअघि अघिल्लो चैतमा पनि सुरुमा दुई साताको लागि भनेर लकडाउन गरिए पनि पछि चार महिना लम्बिंदा धेरै सास्ती खेप्नु परेको थियो ।