- डा. सुलोचना गुरुङ
हरेक वर्षको अप्रिल महिना लाई हामी मुख भित्र हुने क्यान्सर बारे सचेतनाको महिना मान्छौ । यसै अवसर पारेर हामीले मुखमा हुने क्यान्सर बारे समीक्षा गरेर हाम्रो मुखलाई स्वस्थ राख्ने कोसिस गरौँ ।
क्यान्सर बारेको तथ्याङ्कको संकलनलाई नियाल्दा, संसारभरिमा हरेक वर्ष ६ लाख ४० हजार मुख र मुख वरिपरिका अङ्गको क्यान्सर भएको पाइन्छ । यसै गरी संयुक्त राज्य अमेरिकामा सन् २०२० भरी ५३ हजार भन्दा केही बढी क्यान्सर सङ्क्रमित सङ्ख्या पाइएको थियो । तसर्थ, यूएसमा प्रतिदिन करिब १३२ व्यक्ति मुख क्यान्सरबाट सङ्क्रमित भएको पाइन्छ भने प्रत्येक दिन एक जना क्यान्सर सङ्क्रमितको मृत्यु हुन्छ। यसमा सरदर दुई तिहाइ पुरुष भएको तथ्य पनि देखिन्छ ।
क्यान्सरको पूर्व लक्षणहरू
अति छिटो बढ्ने मुख, आहार नली र किलकिले आदीको क्यान्सर HPV16 नामक भाइरस लागेका मानिसहरूको समूहमा देखा परिरहेको छ । HPV16 को सङ्क्रमण भने किशोर अवस्थामा नै भैसकेको हुन सक्छ ।
मुखमा क्यान्सर गर्ने तत्त्वहरू
यो रोग खास गरेर विभिन्न किसिमको सुर्ती र रक्सी जन्य बस्तुको अत्यधिक सेवनले बढी सङ्ख्यामा हुने गर्दछ । अधिक मात्रामा धूम्रपान र मद्यपानका कारण क्यान्सर हुने गरे पनि १०% क्यान्सर लाग्नको कारण भने थाहा हुँदैन । तीन किसिमको मुखको क्यान्सरहरू Squamous Cell Carcinoma ( SCC), Adenoid Cystic Carcinoma (ACC), र Mucoepidermoid Carcinoma ( MEC ) हरुको कारण थाहा छैन । lकतिपय कारण थाहा नपाएका क्यान्सर वंशानुगत वा जीवन यापनका स्थितिबाट भएको हो कि पनि भनिन्छ ।
सामान्यतया देखिने मुख क्यान्सरका सङ्केत र लक्षणहरू
मुख भित्र कुनै ठाउँमा १४ दिन सम्म पनि निको नहुने अल्सर वा घाउ देखिनु,
मुख भित्रको कमलो भागमा कतै रातो, सेता वा कालो रङ्गको पाकेको चोक्टा देखिनु ,
यसरी बनेको भागमा छुँदा असामान्य रूपले रक्तस्राव हुनु,
विशेष गरी जिब्रोको फेदतिर साह्रो खालको मासुको डल्लो बन्नु,
यस्ता मासुको डल्लो धेरै ठाउँ ओगट्ने गरी बढ्नु ,
यसरी उठेको भाग अत्यधिक रूपले वृद्धि हुदै जानु,
कम्तीमा २ हप्ता अवधिमा पछि घाँटीको बाहिरतिर नदुख्ने साह्रो साह्रो मसिना दाना देखिनु र
दाँतको जरामा घाउ देखिनु जुन दाँतको उपचार पछि पनि निको नहुनु ।
उपरोक्त माथिका लक्षणहरू सामान्यतया मुख क्यान्सरमा देखिन्छन र निको हुँदैनन् ।
बिरामीले बताए पछि मात्र थाहा पाउने मुख क्यान्सरका थप सङ्केतहरू
बिरामीले घाँटीमा केही बस्तु अड्केको जस्तो लाग्ने, खाने कुरा निल्न गाह्रो हुने, एकातर्फ मात्र कान दुखीरहने ।
मुख वा ओठ लाटो हुँदै गएको अर्थात कुनै चाल थाहा नपाउने भएको र
केही दिन देखि निरन्तर रूपले घाँटी दुखी रहने तर उपचार गर्दा पनि निको नहुने वा स्वरमा परिवर्तन हुँदै आएको छ भने मुख क्यान्सर भएको हो भन्न सकिन्छ ।
मुख क्यान्सरको उपचार
कसैमा उपरोक्त सङ्केत र लक्षणहरू देखियो वा भएको महसुस गर्यो भने मुख क्यान्सर भएको हो कि भनेर अड्कल गर्न सकिन्छ तर यसको परीक्षण दन्त चिकित्सक र ओरल हाईजिनिष्टले गर्न सक्छ । हुन त क्यान्सरको तह अनुसार क्यान्सर विशेषज्ञ (अंकोलोजिस्ट) बाट उपचार गराउनु पर्छ।
मुख क्यान्सरबाट बच्ने उपायहरू
विशेष गरेर आहार विहारले गर्दा मुख क्यान्सर हुने जोखिम बढ्ने भएकोले खैनी सुर्ती चपाउने, चुरोट, बिडी, सिगार जस्ता धूम्रपान गर्ने काम गर्दै नगर्ने तर सिकी सकेको भए छोड्ने अनि रक्सी जस्ता पेय बस्तुको अधिक सेवन नगर्ने र HPV16 भाइरस बाट पनि मुख क्यान्सर हुन सक्ने भएकोले यो भाइरस सर्न सक्ने क्रियाकलापबाट बच्ने । यसैले मुख क्यान्सरबाट बच्न सरल जीवन यापन गर्नुहोस् र बेला बेलामा मुख परीक्षण गराउनु होस् ।