१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतमा दिनदिनै कोरोना सङ्क्रमितको रेकर्ड, अस्पतालमा आगलागी हुँदा १८ को मृत्यु



काठमाडौं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ३२ लाख ६८ हजार १७० रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ ।

अस्पतालमा आगलागी हुँदा १८को मृत्यु
यसैबीच भारतीय सञ्चार माध्यमहरुले गुजरातको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको जनाएको छ ।

राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो । स्थानीय समयअनुसार शनिबार बिहान १:०० बजै आगलागी हुँदा अस्पतालमा करिब ५० जना बिरामी थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १ : १७ बजे