काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । उनले आफूले संसद्मा विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई आइतवारको बैठकमा गराएका हुन् ।
आइतबार साँझको मन्त्रिपरिषद् बैठकमा उनले यस्तो जानकारी गराएका हुन् । मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितल निवास गएका छन् ।
ओली नेतृत्वको सरकार सुरुमा माओवादीको समर्थनमा बनेको थियो भने एमाले र माओवादीको एकीकरणपछि एउटै दल बनेको थियो । तर सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको एमाले र माओवादी छुट्टाछुट्टै पार्टी बन्यो । त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए थियो ।
प्रधानमन्त्री ओलीले पनि पटक पटक माओवादीलाई समर्थन फिर्ता लिन भनेका थिए । तर माओवादीले समर्थन फिर्ता लिएको थिएन । बरु केही दिन अघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफुहरुले समर्थन नै नगरेको अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान एमालेको स्थायी समिति बैठकपछि पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।
बजेट अधिवेशन बैशा २७ मा
यसैबीच मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन बैशाख २७ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय लिएको हो ।
बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे मन्त्रिपरिषद् बैठकलाई जानकारी दिएको बताइएको छ ।