१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

जुलाई ४ सम्म ७० प्रतिशत बयस्कलाई कोरोना खोप लगाउने वाइडेनको लक्ष्य



न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत बयस्कलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेका छन् ।

जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म अमेरिकालाई कोरोना भाइरसबाट पनि खतरामुक्त बनाउने उनको भनाइ छ ।

कोरोनाभाइरस विरुद्धको लडाइ जित्नका लागि खोप अभियान नै सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय हुने उनको विश्वास छ ।

कतिपय मानिसले खोप लगाउन रुची नराखेकाले यो अभियान अपेक्षितरुपमा अगाडि बढ्न नसकेपनि आफुले तय गरिएको लक्ष्य भने पूरा हुने विश्वास उनको छ ।

वाइडेनका अनुसार अमेरिकामा अहिलेसम्म झण्डै ५६ प्रतिशत बयस्कले खोप लगाइसकेका छन् भने बाँकी झण्डै दुई महिनामा कूल ७० प्रतिशत बयस्कलाई खोप लगाउने लक्ष्य पूरा हुने छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सबैले खोप लगाउन अति नै आवश्यक छ, खोप नलगाएकालाई सङ्क्रमणको खतरा बढी हुने भएकाले सङ्क्रमणबाट जोगिन सबैलाई खोप लगाउन म आग्रह गर्दछु ।”

राष्ट्रपति वाइडेनको प्रशासनले शुरुदेखि नै खोप लगाउने र मास्क लगाउने कार्यलाई उच्च प्राथमिकताका साथ अभियानकैरुपमा जोड दिँदै आएको छ ।

अमेरिकामा अहिलेसम्म १० करोड ५० लाख मानिसले खोप लगाइसकेका छन् भने दैनिक झन्डै १० लाख मानिसलाई खोप दिने गरिएको अधिकारीरुले जनाएका छन् ।

खोप लगाउन सहजिकरणका लागि अमेरिकामा खोपसम्बन्धी छुट्टै वेबसाइट सञ्चालन गरिएको छ । सो वेबसाइटमा खोप लगाउन चाहनेले आफूलाई पायक पर्ने खोप केन्द्रमा नाम टिपाउन मिल्ने व्यवस्थासमेत गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : १३ बजे