प्रम ओलीबाट विश्वासको मत दिनन आह्वानः विशेष अधिवेशन जारी

२०७८ बैशाख २७, सोमबार १६:१५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशन जारी छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएपछि संसदमा नेताहरु बोली रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेका हुन् ।

त्यसलगत्तै सभामुखले अधिवेशनका क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरे । उक्त प्रयोजनका लागि सदस्यमा डा डिला संग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम मनोनयन गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका छन् । प्रस्ताव टेबल गरिएसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यमा आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त सुनाउँदै विश्वासको मत नदिने कुनै कारण नभएको बताएका छन् ।

त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपाका प्रेम सुवाललगायतले बोलेका छन् ।

प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन प्रकारका मत जाहेर गर्ने व्यवस्था गरिएको छ ।

विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ । मतदान प्रक्रियामा पिसिआर नेगेटिभ नतिजा भएकाहरुलाई मुख्य सभाकक्ष र पोजिटिभ संक्रमणलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको छ । हाल कोरोना संक्रमणबाट २८ सांसद प्रभावित भएको बताइएको छ ।

एमालेका नेपाल समूह अनुपस्थित
सत्ताको नेतृत्व गरिरहेको नेकपा(एमाले)भित्रको आन्तरिक विवादका कारण माधवकुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित छन् । संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्था नुसार नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ । सांसद विजयकुमार गच्छदार, मोहम्मदआफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा हुनुहुन्छ, उहाँहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।

प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिनेछन् । अधिवेशनमा २६६ सांसदले मतजाहेर गर्ने छन् ।

प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतमा एमालेका १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार छ ।

 

सम्बन्धित समाचार