२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

नेपालमै अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण सफल



काठमाडौँ  । नेपालमा कोभिड १९ को संक्रमणका कारण अक्सिजन सिलिण्डरको अभाव भइरहेको बेला देशभित्रै सिलिण्डर निर्माणको परीक्षण सफल भएको बताइएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको हो । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरे ।

मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाए । सो कार्यमा सरकारको पूर्ण सहयोग हुने उनको प्रतिबद्धता थियो । मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन भने ।

परीक्षण सफल भएसँगै अब नेपालले प्रेसर धान्न सक्ने लिलिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले अब उत्पादन गर्ने कम्पनीसँग छलफल गरी  व्यावयायिक उत्पादन गर्न अनुमति दिने बताए । उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्यूनतम् मूल्य करिब १५ हजार पर्ने भने नाष्टको प्रविधि प्रयोग भएका सिलिण्डरको करिब १० हजार भन्दा कम मूल्य पर्नेछ । परीक्षण अवलोकन गर्न नाष्टको ललितपुस्थित मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाललगायत टोलीलाई धन्यावाद दिए ।

सो सिलिन्डर मा ग्यास सिलिण्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दबाब २३५ बार सम्म पुगेपछि सिलिण्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो ।

नास्टका उपकुलपति डा. श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए । मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञान तथा नवप्रवर्तत नीतिलाई कार्यान्वयनमा ल्याउनासाथ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ७ : १२ बजे