१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सके सरकार बनाउनुस्, नसके मलाई समर्थन गर्नुस्: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बिपक्षीलाई बहुमत पर्याएर सरकार बनाउन चुनौती दिंदै त्यो संभव नभए आफ्नै नेतृत्वको सरकारमा आउन भनेका छन् ।

शुक्रवार पत्रकाक सम्मेलन गरेर उनले ‘’तपाईँहरु मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस् । अर्को उपयुक्त विकल्प केही भएमा हिम्मतका साथ ल्याउनुस्, राजनीतिक तनावलाई शिथिल गरेर महामारीविरुद्ध एकताबद्ध भएर जाऔँ’’ भने । उनले यही कुरा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भनेको बताए ।

देशमा कोभिङ–१९ को महामारी नियन्त्रण, नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने जटिल समय भएकाले सहमतिका आधारमा राष्ट्रिय सरकार बनाउन आफू तयार रहेको स्पष्ट उनले स्पष्ट पारे ।

प्रधानमन्त्री र ठूलो दलको नेताका हैसियतले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि सहमति र विकल्पका लागि बिहानै पनि टेलिफोन गरेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिई आह्वान गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले त्यसबारे उठेका चासोलाई सम्बोधन गरेका हुन् ।

उनले नयाँ प्रक्रियामा जानुपूर्व प्रधानमन्त्रीले राजीनामा गर्नैपर्छ भन्ने संविधानमा कतै उल्लेख नभएको जनाउँदै अरुलाई विकल्प दिएर हात उठाउनु नै पर्याप्त भएको स्पष्ट पारे । ‘‘म सहमतिका लागि कुरा गर्न चाहन्छु, उहाँहरु उत्तर–दक्षिण गरिरहनुभएको छ । साथीहरु मलाई लखेटिरहनुहुन्छ, अरु विकल्पमा जाऔँ, निर्वाचनतर्फ नधकेलौँ भन्छु तर विकल्प नदिने हो भने निर्वाचनमा देश गएमा आकाश खस्दैन । यो संवैधानिक प्रक्रिया हो । स्वतन्त्र निष्पक्ष निर्वाचनबाट जनताको ताजा मतादेश आउँछ । लोकतन्त्रमा निर्वाचनबाट भागेर हामी कहीँ पुग्न सक्दैनौँ । नियमितरुपमा पनि एक वर्षपछि निर्वाचन गर्नैपर्छ ।’’

प्रधानमन्त्री ओलीले एमालेभित्रैबाट अनुशासनहीनरुपमा अलोकतान्त्रिक ढङ्गले आफ्नो दलको सरकार ढाल्ने र विपक्षीको नेतृत्वमा सरकार बनाउने प्रयास भएको र आफ्नै दलको सरकारलाई विश्वास प्राप्त नहोस् भनेर आपराधिक प्रकारका काम पनि भएको टिप्पणी गरे । उनले गत वैशाख २७ गते आफूले प्रतिनिधिसभामा विश्वासको मत लिन जाँदा पारित नहुने प्रस्ताव ल्याएर नाटक गरेको भनिएको र यो सरकारलाई विश्वासको मत लिने नैतिक हिसाबले पनि छैन भनी आरोप लगाइएको स्मरण गराउँदै त्यसपछि दुई वा दुईभन्दा बढी दलले ७६ (२) बमोजिमको सरकार बन्न तीन दिनको समय दिँदा बन्न नसकेपछि आफूले नचाहेर पनि ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त भएको स्पष्ट गरे ।

‘‘यसरी समयले च्यापेका बेला फेरि विश्वासको मततिर जानुभन्दा मार्गप्रशस्त गर्नु संवैधानिक र राजनीतिक रुपमा उपयुक्त छ । यसमा षड्यन्त्र कहाँ भयो ? दलहरु मिलेर नयाँ सरकार बनाउने सकेमा म स्वागत गर्छु । अरुले मलाई गरे जस्तो म सधैँको किचकिच गर्दिन, नयाँ सरकारलाई मेरो दल सहयोग गर्छ’’ उनले भने, ‘‘कसले विफल गर्न खोज्यो संसद् ? मलाई समर्थन गर्नुस् न त । संविधान कसले थिचोमिचो गरेको छ ? म हार्छु, मैले हात उठाएँ भन्दा पनि सुख नपाउने ? अनि गाली गरेर मात्रै हुन्छ ?’’

 

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ३ : २८ बजे