२५ मंसिर २०८१, मंगलबार | Wed Dec 11 2024

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य, घटायो उडान भाडा दर



काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२:०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । इन्धनको मुल्य घटेसँगै नेपाल वायु सेवा निगमले पनि आफ्नो भाडादर घटाएको छ ।

आइतबार बसेको निगम सञ्चालक समितिले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखि मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।

आइतबारसम्म निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ४० प्रतिशत नाफा रहेको थियो । यसअघि निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ७० प्रतिशतसम्म रहेको निगमका प्रवक्ता वितीतमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको एक वर्षको अवधिमा हवाई इन्धनबाट निगमलाई पाक्षिक (१५ दिनको अवधिमा) रुपमा रु एक करोड ५० लाख नाफा भएको छ ।

निगमलाई खाना पकाउने एलपी ग्यासबाट पाक्षिक रुपमा अनुमानित रुपमा रु ५० करोड नोक्सान रहेको छ । एपली ग्यासको नोक्सानी निगमले हवाई इन्धनबाट परिपूर्ति गर्दै आएको थियो । निगमको इन्धन मूल्य निर्धारण नीतिअनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको छ ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा कमी आएसँगै हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ । मूल्यमा कमी आएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई हवाई इन्धनबाट मात्र वार्षिक रुपमा रु ७० करोडभन्दा बढी रकम बचत हुने अनुमान गरिएको छ ।

नेपाल वायु सेवा निगमले घटायो उडान भाडा

यसैबीच नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ ।

इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागुहुने गरी कार्गो तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । उनका अनुसार निगमले वाइडबडी विमान (एयरबस ३३०) मा साबिकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ ।

नयाँ मूल्य अनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गो उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार ४६० कायम गरिएको छ । यसअघि उक्त जहाजको भाडादर १५ हजार ५२० डलर रहेको थियो । आयल निगमले वाइडबडी जहाजको भाडादरमा दुई हजार ६० डलर घटाएको हो ।

यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा छ हजार ५८० बनाइएको छ । यसअघि उक्त जहाजको भाडादर सात हजार ७१० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर एक हजार १३० डलरले घटाएको छ ।

महँगो हवाई इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रियजगत्मा नेपालको प्रतिष्ठामा असर परेको भन्दै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हवाई इन्धनको शुल्क घटाउन आग्रह गर्दै आएका छ्न् ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ३ : ४० बजे