२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

विश्वलाई ‘जी सात’ को सन्देश



 

  • बीके नेवा
लेखक ।

कोरोना महामारीबीच बेलायतको कोर्नवालमा (जुन ११–१३) सम्पन्न धनी राष्ट्रहरूको समूह ‘जी सात’को शिखर बैठकले सबै विश्ववासीलाई आउँदो वर्षभित्र खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । शिखर बैठकमा कोभिडपछिको पुनर्स्थापना र बलियो स्वास्थ्य प्रणालीबारे पनि गहन छलफल भएको छ । बैठकले विश्वलाई नयाँ सन्देश दिएको छ ।

जी सातमा विश्वका सात समृद्ध अर्थतन्त्र भनिने देशहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका आबद्ध छन् । बैठकले अर्को वर्षको अन्त्यसम्म विश्वका सबै मानिसलाई नै खोप लगाइसक्नुपर्नेमा जोड दिएको छ । शीर्ष नेताहरूले सामूहिक रूपमा महामारीसँग जुध्न एक अर्ब खोपको मात्रा घोषणा गरेका छन् ।

क्यानडा, जापान, फ्रान्स, जर्मनी र इटलीसहित अमेरिका र बेलायतले उक्त लक्ष्य अनुसार खोपको उत्पादनलाई बिस्तार गर्ने योजना तय गरेका छन् ।

त्यस अवसरमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो मुलुकलाई चाहिनेभन्दा बढी १० करोड खोप अर्को वर्षसम्म वितरण गरिने स्पष्ट गर्नुभयो । उहाँले अर्को वर्षको अन्त्यसम्म विश्वलाई खोप लगाइसक्ने प्रतिबद्धता गर्न आफूले जी सातका नेताहरूलाई विशेष अनुरोध गर्नुभयो । जी सातका नेताहरुले नै अरू औषधि निर्माता कम्पनीहरूलाई महामारी निरन्तर भएकाले खोप खरिद मूल्यमा नै बिक्री गर्न प्रोत्साहित गर्न उहाँले सुझाव दिनुभयो । बेलायतले यसअघि नै विश्वका गरिब देशहरूलाई खोप उपलब्ध गराउने कोभ्याक्स कार्यक्रमलाई ५० करोड पाउन्ड उपलब्ध गराइसकेको छ ।

शिखर बैठकमा सहभागी अमेरिकी राष्ट्रपति जोए बाइडेनले दुई वर्षभित्र ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने बताउनुभयो । जसअन्तर्गत यो वर्षभित्र २० करोड खोपको मात्रा र बाँकी सन् २०२२ मा वितरण गरिनेछ ।

सन् २०१९ को डिसेम्बर ३१ मा चीनको बुहानमा कोरोना फेला परेको हो । त्यहाँबाट फैलिएको कोरोनाले विश्वका २०८ मुलुक प्रभावित बनेका छन् । हालसम्म ३७ लाख ९० हजारभन्दा बढीको कोरोनाबाट ज्यान गएको छ भने १७ करोड ५७ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । कोरोना महामारी घोषणा गर्नेदेखि त्यसलाई नियन्त्रण गर्ने प्रयासमा अहिलेसम्म दुई अर्ब मात्रा खोप बनाउने सफलता प्राप्त भएको छ । हाल विश्वको जनसङ्ख्या सात अर्ब छ । सबैलाई पुग्नेगरी खोप उत्पादन गरी खोप लगाउने व्यवस्था मिलाई जीवन बचाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो । यो कार्य सम्पन्न गर्न जी सातको प्रयासले मात्रै सम्भव छैन, जी २० लाई पनि समावेश गर्नैपर्छ । विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका भारत र चीन साथै अर्को औद्योगिक मुलुक रुसको सहयोगविना कोरोना खोप अभियानलाई सफल बनाउन सम्भव छैन । जी सातका नेताहरुले यो कुरालाई आत्मसात गरी ती मुलुकसँग सहकार्य गर्दै तत्काल विश्वलाई पुग्ने खोप उत्पादन गरी सबैलाई खोप दिएर कोरोनामुक्त विश्व बनाउनुपर्छ । यो शताब्दीकै ठूलो सङ्कटका रुपमा देखा परेको यो महामारीबाट मानव समुदायलाई मुक्त गरी विश्वलाई पुरानै लयमा फर्काउन सबै एकजुट हुनुको विकल्प छैन ।

यदि राजनीतिक स्वार्थका लागि कोरोना खोपमाथि राजनीति गरियो भने यो महामारी तत्काल अन्त्य सम्भव हुँदैन र यसले विश्वलाई थप अपुरणीय क्षति पुर्याउनेछ ।
अपेक्षाअनुरुप काम भए विश्वका पाँच अर्ब ८० करोड वयस्क मानिसका लागि यो वर्षभित्रै पूर्ण मात्रामा खोप लगाउन पर्याप्त उत्पादन हुने जी सातको अनुमान छ । प्रक्षेपणकर्ताहरूका अनुसार यो वर्षको तेस्रो र चौथो त्रैमासिकमा खोप उत्पादनले गति लिनेछ । ड्युकको ग्लोबल हेल्थ इनोभेसन सेन्टर (जीएचआईसी) का अनुसार यो वर्ष १२ अर्बभन्दा धेरै मात्रा खोप उत्पादन हुनसक्छ । खोप उत्पादन र वितरणको निगरानी गरिरहेको एअरफिनिटी कम्पनीका अनुसार सन् २०२१ मा विश्वभर ११ अर्ब मात्राभन्दा केही अधिक खोप उत्पादन हुनेछ । त्यति परिमाणबाट विश्वभरिको ७५ प्रतिशत जनसङ्ख्याका लागि आवश्यक पर्ने १० अर्ब ८२ करोड मात्रा पर्याप्त हुनेछ । एअरफिनिटी पाँच वर्ष तथा त्यसभन्दा माथिका मानिसलाई समेटेर त्यस्तो अनुमान गरेको हो ।

अहिले खोप उत्पादन क्षमता अमेरिका र युरोपमा बढी छ । त्यहाँबाट खोपका मात्रा छिट्टै वितरण गर्न सहज छ । तर विविध कारणले विभिन्न देशबीच प्रविधि र विज्ञता आदानप्रदान गर्ने काम पनि कठिन छ । फलस्वरूप अहिले खोप उत्पादन गरिरहेको हुनुपर्ने कतिपय ठाउँहरू अझै सञ्चालनमा आउन सकेका छैनन् ।

एअरफिनिटीका अनुसार यो वर्ष विश्वव्यापी आपूर्तिमा तीनवटा फाइजर/बायोएनटेक २.४७ अर्ब मात्रासहित, अक्सफर्ड/आस्ट्राजेनेका १.९६ अर्ब मात्रासहित र सिनोभ्याक १.३५ अर्ब मात्रासहितका खोप प्रमुख रुपमा रहेका छन् । अहिलेसम्म फाइजर र सिनोभ्याकले आफ्ना प्रारम्भिक लक्ष्यअनुसार उत्पादन गरिरहेका छन् । आस्ट्राजेनेकाले सुरुमा यो वर्ष तीन अर्ब मात्रा खोप उत्पादन गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म लक्ष्य प्राप्तिको दिशामा सोचेजस्तो प्रगति भएको छैन । फाइजर र सिनोभ्याकले भने सुरुदेखि अन्त्यसम्म आफैँ उत्पादन गर्ने बताएका छन् ।

अहिलेको मुख्य समस्या खोप उत्पादनभन्दा वितरण व्यवस्थामा देखिएको छ । कोरोना फैलिन नदिने भन्दै विभिन्न मुलुकमा निर्यातमा लगाइएका प्रतिबन्धहरूका कारण विश्वभरि खोप वितरण गर्ने काम अवरुद्ध भएको छ ।

महामारीअघि भारतको सिरम इन्स्टिच्युटले विश्वको ६० प्रतिशत खोप उत्पादन गर्थ्यो । त्यसले खासगरी विकासशील देशलाई अप्ठ्यारोमा पारेको छ । फाइजरले सबैभन्दा धेरै मात्रा खोप उत्पादन गर्ने अपेक्षा गरिएको छ तर त्यो सबैजसो धनी देशले किनिसकेका छन् । आस्ट्राजेनेका ठूलो मात्रामा युरोप र भारतमा उत्पादन भइरहेको छ र त्यो त्यहीँ अड्किरहेको छ ।

एअरफिनिटीका अनुसार अहिले चीनले मात्र ठूलो मात्रामा खोप निर्यात गरिरहेको छ । अहिलेसम्म उसले २६ करोड मात्राभन्दा बढी खोप देशबाहिर पठाएको छ । रुसले पनि धेरै वाचा गरेको देशमा पुर्‍याइनसकेको अवस्था छ । गएको मे महिनासम्म ४.२ करोड मात्रा स्पुतिनक भी खोप उत्पादन हुँदा १.३ करोड देशबाहिर निर्यात भएको छ । रुसले सुरुमा विश्वभरिका १८ वटा कम्पनीसँग सम्झौता गरेको भए पनि देशबाहिर काजाकस्तानमा मात्र एउटा कम्पनीले उक्त खोप उत्पादन गरिरहेको छ ।

भारतीय अधिकारीहरूले स्पुतिनक भी अगस्ट महिनापछि मात्र ८५ करोड मात्रा उत्पादन गर्नेगरी भारतमा उत्पादन हुने घोषणा गरेका छन् । विश्वको सबैभन्दा ठूलो खोप उत्पादक भारतले रोकिरहेको आपूर्तिको असर विपन्न देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रममा परेको छ ।

सन् २०२१ को अन्त्यसम्ममा कोभ्याक्सले दुई अर्ब मात्रा खोप उपलब्ध गराउँदै त्यसमा सहभागी देशको कम्तीमा २० प्रतिशत जनसङ्ख्यालाई खोप दिने योजना बनाएको छ । उक्त २० प्रतिशतमा जोखिमयुक्त समूहमा पर्ने स्वास्थ्यकर्मीजस्ता मानिसहरू प्राथमिकतामा पर्नेछन् ।

अहिलेसम्मको घटनाक्रमलाई हेर्दा के देखिएको छ भने विश्वका धनी मुलुकलाई सहज रुपमा खोप उपलब्ध भए पनि गरिब तथा अविकसित मुलुकहरुमा खोप पुर्याउन र लगाउने व्यवस्थामा गम्भीर चुनौती देखिएका छन् । धनी तथा ठूला मुलुकले सहयोग नगर्ने हो भने गरिब र अविकसित मुलुकका सबै मानिसलाई खोप पुर्याउन सम्भव छैन । सबैलाई खोप नदिएसम्म विश्व कोरोनामुक्त हुन सक्दैन । त्यसैले जी सातले जी २० सँग सहकार्य गरी छिटोभन्दा छिटो विश्वभरि नै कोरोना खोप उपलब्ध गराउनुपर्छ । अहिलेको भूमण्डलीकरणले के स्पष्ट गरेको छ भने गरिब र अविकसित मुलुकहरुलाई खोप नदिई धनी मुलुकहरुले आफ्ना नागरिकलाई खोप दिएरमात्र कोरोनामुक्त सम्भव छैन । गरिब र अविकसित मुलुकहरु कोरोनामुक्त नभएसम्म धनी मुलुकहरु पनि सुरक्षित हुन सक्दैनन् । त्यसकारण कोरोनामुक्तिका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर विश्वव्यापी अभियान चलाउनैपर्छ । त्यसको नेतृत्व जी सातले गर्नुपर्छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : ४५ बजे