झलनाथ खनाललाई उपचारका लागि भारत लगियो

२०७८ असार २, बुधबार १७:५५

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो ।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले बुधबार दिउँसो उपचारका लागि नयाँ दिल्ली लगिएको बताएका छन् । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ । ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण भएको थियो ।

उनले भारत जानुअघि एमालेमा रहेको विवाद समाधान गरी पार्टी एकताको लागि आह्वान गरेका थिए ।

सम्बन्धित समाचार