काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी दश जनाको ज्यान भएको छ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीले ७ मा बेपत्ता भएका ७ जनाको मृत्यु भएको छ भने पाल्पामा १, कास्कीमा १ र डोटीमा १ को मृत्यु भएको हो ।
बाढी पहिरोमा परी जाजरकोटमा ७ जना बेपत्ता भएको बताइएको छ । त्यसैगरी सिन्धुपाल्चोकमा ४ जना, डोटीमा २ जना, कास्कीमा १ जना र स्याङजा १ जना गरी ८ जना घाइते छन् । घाइतेमध्ये ६ पुरुष र २ किशोरी रहेका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ। साथै वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवरलपरासी (पश्चिम)लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीको कारण १ सय ६५ वटा घर डुबानमा परेका छन् । ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६२ वटा घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायको मृत्यु भएको छ।
अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका छन्।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न छन्।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।