दुई महाशक्तिका राष्ट्रपतिबीच भेट वार्ता: बाइडन र पुटिन दुवैले भने, सकरात्मक

२०७८ असार ३, बिहीबार १७:०६

अमेरिका । अमेरिका राष्ट्रपति जो वाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले आफुहरुबीचको भेटवार्ता सकरात्मक रहेको बताएका छन् । यद्यपि दुई नेताको भेटवार्ताले ठोस उपल्बधी भने हाँसिल नगरेको बताइएको छ ।

सन् २०१८ पछि यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ।अमेरिकी राष्ट्रपति वाइडनले रुसले नयाँ शीतयुद्ध नचाहेको बताएका छन् भने रुसी राष्ट्रपति पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले ‘समान धारणा’ राखेको बताए ।

स्वीटजर ल्याण्डको जेनेभामा दुई नेताहरू बीचको छलफल चार घण्टा चलेको बताइएको छ । रुसी नेताका लागि बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप लिएर आएका थिए ।

दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएका छन् भने दुवै देशले एक अर्कामा राजदूत पठाउने पनि निर्णय गरेको बताइएको छ ।

सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए ।

साइबर सुरक्षा, युक्रेन र हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नभाल्नीको भविष्य जस्ता विषयमा पनि कुराकानी भएको बताइएको छ । नभाल्नीको जेलमा ज्यान गए त्यसले रुसका लागि ‘भयावह परिणाम’ निम्त्याउने बाइडनले चेतावनी दिएको बताइएको छ ।

साइबर हमलाहरूका विषयमा पुटिनले रुस जिम्मेवार नभएको उल्लेख गर्दै आफ्नो देशलाई लक्षित गरी गरिने त्यस्ता अधिकांश हमलाको मूल श्रोत अमेरिका भएको बताएका थिए ।

बाइडनले संवेदनशील पूर्वाधार जस्तै पानी वा इन्धनमा कुनै किसिमको ह्याकिङ वा आक्रमण अस्वीकार्य हुने र त्यसको प्रतिकार गरिने बताएका थिए ।

 

सम्बन्धित समाचार