८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

फाष्टट्र्याकमा सुरुङको डिजाइन गर्न आइपुग्यो चिनियाँ टोली



काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश फष्टट्र्याकको धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली बुधबार काठमाडौं आएको छ ।

कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाको समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली काठमाडौं आइपुगेको हो ।

सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धकसहित १४ सदस्यीय विज्ञ टोली रहेका छन् । राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त फाष्टट्र्याकअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ गते सम्झौता भएको थियो । टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने छ । कम्पनीको नेपालमा रहेको समूहले स्थानविशेषमा गई यसअघि नै सर्भेको काम सुरु गरिसकेको छ ।

सम्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा बताइएको छ । तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सेनाले द्रुतमार्गको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । पहिलो प्याकेज करीब रु २१ अर्ब तीन करोडमा निर्माण गर्ने सम्झौता भएको छ । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटाछोटा दुई सुरुङ छन् ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ४ : ०४ बजे