काठमाडौँ । चीनसँग किन्नका लागि सम्झौता भएको ४० लाख डोज मध्ये पहिलो खेप कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ ।
चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत शुक्रबार बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनु्सार सरकारले खरिद गरेको खोपको ८ लाख डोज आइपुगेको हो । मन्त्रालयका अनुसार ८ लाख डोजको १३ हजार किलो हुन्छ । नेपाल सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौताअनुसार कति मुल्यम खोप नेपाल ल्याइएको हो भन्ने खुलाइएको छैन ।
अब आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमितरुपमा खोप आउन थालेको हो । यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । खो अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिएको छ । मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ ।
खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । कूल जनसङ्ख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ । नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ ।