१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । यसअघि देउवा चार पटक प्रधानमन्त्री भइसकेका छन् । आदेश पछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट बाहिरिएका छन् ।

देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुएका ब्यक्ति हुन् । देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका व्यक्ति हुन् ।प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंमा हासिल गरेका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।

विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए । २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी चार पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ मा प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८, २०६१ र २०७४ मा प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : ०९ बजे