६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

जनादेशबाट होइन, परमादेशबाट हट्दै छु: प्रम ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु ”जनादेशबाट नभएर परमादेश” का कारण सत्ताबाट हटेको बताएका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

साथै उनले अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको पनि टिप्पणी गरेका छन् । देशवासीका नाममा मंगलबार सम्बोधनका क्रममा उनले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने बताए ।

‘‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ” उनले भने ।

उनले आफुले ५ दशकदेखि निरन्तर लोकतन्त्रको लागि लडेको ब्यक्ति भएको उल्लेख गर्दै अदालतले आफुमाथी नैतिकताको प्रश्न उठाउनुको कुनै औचित्य नभएको पनि बताए । “मेरो अटल विश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ”, उनले भने, “प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।”

उनले अदालतको फैसला त्रुटीपूर्ण भएपनि त्यसको कार्यन्वयन गर्ने उल्लेख गर्दै आफ्ना कार्यकर्ता तथा समर्थकहरुलाई धैर्य राख्न संयमता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : ३१ बजे