२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

बिपीको सोच पुरा गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई



काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला बहुमुखी प्रतिभाका धनी रहेको बताएका छन् ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाली कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवाद गाउँस्तरसम्म स्थापित गर्ने बिपीको सोच पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाए । लोकतान्त्रिक मूल्य मान्यताको स्थायित्वका लागि बिपीले रेको सङ्घर्षबाट सबैले पाठ सिक्नुपर्नेमा पनि सभापति देउवाले जोड दिए । ।

कार्यक्रममा सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरीले नेपाललाई लोकतान्त्रिक समाजवादी देशको रुपमा स्थापित गर्ने बिपीको सपना अझै पूरा हुन नसकेको उल्लेख गरे । बिपीको सोचअनुसारको लोकतान्त्रिक समाजवादी नेपाल निर्माण गर्नसके निम्न वर्गका मानिसको पनि जीवनस्तर उकास्न सकिने उनको भनाइ थियो ।

बिपी स्मृति दिवसकै अवसरमा सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा रहेको विपी कोइरालाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो । नेपालमा फैलिइरहेको नयाँ भेरियन्टसहितको कोरोना जोखिमलाई ध्यान दिँदै भौतिक दूरी कायम गरी सीमित व्यक्तिका बीच गरिएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख एवं कांग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेललगायतले माल्यार्पण गरे ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : ०४ बजे