१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

प्रधानमन्त्रीसँग गैरआवासीय गैरआवासीय नेपाली नागरिकताको विधेयकका बारे ध्यानाकर्षण



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार भेट गरी संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

साथै भेटको क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग कोभिड– १९ का कारण उत्पन्न विषम परिस्थितिमा विदेशमा रहेका नेपाली श्रमिकको उद्धार, नेपाल ल्याइएका श्रमिकको पुनःस्थापनालगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन आग्रह गरेको छ ।

सो अवसरमा सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका ब्रिटिस गोर्खाको सत्याग्रहका विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भएबमोजिम गैरआवासीय नेपाली नागरिकतालगायतका विषयमा छिट्टै टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्घले जनाएको छ । भेटमा सङ्घका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटा, कार्यकारी प्रमुख राजेश राणालगायत थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ४२ बजे