२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

आदिवासी चलचित्र महोत्सवका लागि सात चलचित्र छनौट



अमेरिका । तेश्रो नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०२१ का लागि सात वटा चलचित्र प्रदर्शन गरिने भएको छ ।

२७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आयोजना गरेको महोत्सवमा आदिवासी जनजातिका सात वटा चलचित्र प्रदर्शन गरिने महासंघका महासचिब नरेन्द्र थापाले जानकारी दिए ।

महोत्सव यही अगष्ट २१ र २२ तारिखका दिन न्यूयोर्कको ज्याक्सन हाइटस्थित गुल्सन ट्यारेशमा आयोजना हुँदैछ । ”कसैलाई पछाडि नछाडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आव्हान” नारासहित यस वर्ष विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व आदिवासी जनजाति दिवस अगष्ट ९ मनाइएको छ ।

विभिन्न जनजाति समुदायको मातृभाषामा निर्माण गरिएका १५ वटा चलचित्र मध्येबाट छनौटमा परेका ७ वटा चलचित्र प्रदर्शन गर्न लागिएको महोत्सव संयोजक तथा महासंघका महासचिव थापाले बताए । महोत्सवमा गुरुङ जातिको मि न्होर्वै ट, तामाङ जातिको प्रङ्ना, मगर जातिको ट्याङचालक, लिम्बु जातिको के, राई जातिको सायाबुङ, नेवार जातिको जा मनःगुभाजु, ह्योल्मो जातिको मेतोक प्रदर्शन गरिने छ ।

फिप्नाका अध्यक्ष लोक चेम्जोङले नेपालका आदिवासी चलचित्रमार्फत जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य रहेको बताए । अध्यक्ष चेम्जोङले महोत्सवमा चलचित्र सहभागिता गराउने सम्पूर्ण चलचित्रकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दै अन्तिम छनौटमा परेका चलचित्रहरुलाई बधाईसहित शुभकामना व्यक्त गरेका छन् ।

चलचित्र महोत्सवले आदिवासी जनजाति चलचित्रलाई अन्तराष्ट्रियकरण गर्न सघाउ पुर्याउने आयोजकको अपेक्षा छ । नेपाल आदिवासी चलचित्र महोत्सव निफको यो तेश्रो संस्करण हो । शनिबार र आइतबार दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न १० वटा विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । छनौटमा परेका ७ चलचित्र नेपाल आदिवासी जनजाति चलचित्र महासंघ नेपालले संकलन गरि पठाएको हो । चलचित्र छनौट समितिले उक्त सात चलचित्र छनौट गरेको हो । चलचित्र छनौटको लागि सम्बन्धित भाषाको जातीय संस्थाहरुलाई जिम्मेवारी दिइएको थियो ।

महोत्सवमा लोकप्रिय गायकहरु जगदिश समाल र मंगोयिन हार्टका राजु लामाले प्रस्तुती दिने छन् । कार्यक्रम मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गर्दैछन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : ०७ बजे