१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

सभामुखलाई नधम्क्याउन सत्तारुढ गठबन्धनको ओलीलाई चेतावनी



काठमाडौं। सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटा धम्की नदिन चेतावनी दिएका छन् ।

सोमबार गठबन्धनको तर्फबाट एक विज्ञप्ती जारी गरी ओली र एमाले संसादहरुले सभामुख सापकोटालाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा भन्दै विरोध गरेको हो ।

एमालेले नेकपा (एकीकृत समाजवादी) गठनमा लागेका माधव कुमार नेपासहित १४ जना सांसदलाई कारवाहीको लागि लेखि पठाए पनि सभामुख सापकोटाले सूचना टाँसेर कारवाही नगरेको भन्दै एमाले अध्यक्ष ओलीले सभामुखसापकोटाले माओवादी कार्यकर्ताको जस्तो व्यवहार गरेको भन्दै ”संसद चलाउन मन छ की छैन” भनेका थिए भने सांसदहरुले कार्यकक्षमै पुगेर दवाव दिएका थिए ।

सत्तारुढ गठबन्धनले संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरूद्ध हुने गरी सभामुखलाई भदौ ३ र ४ मा एमाले सांसदहरूले संघीय संसद सचिवालय सिंहदरबारमा र अध्यक्ष ओलीले मिडियामार्फत् अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार विज्ञप्ति निकालेर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमख सचेतक देवप्रसाद गुरूङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठले एमालेले धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा विरोध गरेका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : २५ बजे