१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

काबुल विमानस्थल अझै अस्तव्यस्त, अमेरिकाले एक दिनमा १७ सय उद्धार, विमानमै शिशुको जन्म



काबुल । तालिवानले अफगानिस्तानको सत्ता लिएको दश दिन हुँदा पनि काबुल विमानस्थल अझै अस्तव्यस्त नै छ । विमानस्थल अमेरिकी सेनाको नेतृत्वमा बहुराष्ट्रिय सेनाको कब्जामा रहेपनि पलायन हुन चाहनेको ठूलो भिड लागेकोले अस्तव्यस्त भएको हो ।

यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ ।

अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ । गएको हप्तादेखि काबुलको अन्तरराष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको बताइएको छ ।

गत अगस्त १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानको सहयोगी राष्ट्रले करिब एक हप्तादेखि सञ्चालनमा ल्याएको उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसको ठूलो संख्याको सामना गर्न सङ्घर्ष गरिरहेका छन् ।

काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहेको भए पनि मानिसले सुरक्षित व्यवस्थापनको माग गरिरहेका छन् । यहाँको प्रशासनले सक्दो प्रयास गरिरहेको बताए पनि एकै पटक धेरै मानिसले देश छोड्न खोज्दाँ सम्भव नहुने भएकाले यहाँ अव्यवस्था देखिएको हो ।

अमेरिकाद्वारा एकै १७ सयको उद्धार
यसैबीच अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन् ।

उद्धार गर्नुपर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो सम्पन्न गर्नका लागि खटिने विमानको सङ्ख्या पनि बढाउन लागिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गर्न लागेको छ ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा रहेका हजारौँ मानिसहरु अफगानिस्तानबाट भाग्न खोजिरहेका छन् । अफगानिस्तानबाट बाहिरिनका लागि हजारौँ मानिस काबुल विमानस्थलमा जम्मा भएकाले उनीहरुलाई तत्काल उद्धार गर्नुपर्ने खाँचो देखिएको छ ।

अफगानिस्तान छोड्न काबुल विमानस्थलमा भएको भागदौडका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ । सुरुका केही दिन तनावपूर्ण र कारुणिक भए पनि अहिले भने सामान्य हँुदै गएको अधिकारीहरुले जनाएका छन् ।

विमानमै बच्चाको जन्म

अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले विमानमै बच्चा जन्माएको विषय पनि अहिले चर्चाको विषय बनेको छ । उद्धार गरी जर्मनीतर्फ गइरहेको विमानमा एक महिलाले गत शनिबार छोरी जन्माएको जनाइएको छ । अमेरिकी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत आमा र शिशुको तस्वीर समेत सार्वजनिक गर्दै उद्धारकै क्रममा महिलाले बच्चा जन्माउँदा खुसी लागेको उल्लेख गरेको छ ।

युएस एयर फोर्स सी–१७ विमानमा बच्चा जन्मेको र आमा र शिशु दुवै जनालाई विमानमै स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : २९ बजे