मोरङ । हालै मात्र माधव कुमार नेपालले खोलेको नयाा पार्टीमा नगई एमाले अध्यक्ष ओलीकै पक्षमा लागेका भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनीले बिहीवार मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।
निवर्तमान मुख्यमन्त्री शेरधन राईले आजै संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । एमाले नेता माधव कुमार नेपाललगायतले नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना गरेपछि प्रदेश १ मा आफ्नो पकट कायम गर्ने उदेश्यले एमाले अध्यक्ष केपी ओलीले राईलाई राजीनामा दिन लगाई आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।
आजै बिहान बसेको प्रदेश नं. १ प्रदेश सभाको एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता चयन गरेको थियो । त्यसलगतै उनलाई मुख्यमन्त्री चयन गर्यो ।
एमाले पार्टी भित्रको विवादमा नेता माधवकुमार नेपालको पक्षमा रहेका आचार्य पार्टी फुट्ने बेलामा मुख्यमन्त्री बनाउने अश्वासन पाएपछि ओली तर्फ लागेका थिए । यद्यपी उनको मुख्यमन्त्री पद कति समयको लागि हो भन्ने यकिन छैन । प्रदेश नं. १ को एमालेकै ८ जना संसाद नेपालले खोलेको नयाँ दलमा गएको खण्डमा आचार्यले विश्वासको मत पाउने छैनन् ।
यसअघि यही पाराले अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । नेता नेपालको खेमामा रहेकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले आफ्नो पक्षमा ल्याएको थियो । आफ्नो पक्षका मुख्यमन्त्री डोरमणी पौडेललाई राजीनामा दिन लगाइए शाक्यलाई उनकै प्रस्तावमा संसदीय दलको नेता तथा मुख्यमन्त्री बनाइएको थियो । यद्यपी बागमतीको पनि कति जना एमाले सांसद नेपालको नयाँ पार्टीमा प्रवेश गर्छन् र शाक्यले विश्वासको मत पाउँछन् की पाउँदैनन् भन्न गाह्रो छ ।