७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अमेरिकामा बाढी र आँधी ;४४ को मृत्यु



न्युयोर्क । अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् ।

“म अहिले ५० वर्षको भएँ, यस्तो घटना अहिलेसम्म देखेको थिएन, यति धेरै बर्षा, आँधी र बाढी कहिले पनि आएको थिएन होला,” स्थानीय मेटोडिजा मिहाज्लोभले भने । बाढीका कारण आफ्नो रेष्टूरेन्ट पनि पुरै डुबानमा परेको र धेरै क्षति भएको समेत उनले जानकारी दिए ।

“म त जंगलमा बसिरहेको छु की जस्तो लागेको थियो, विश्वासै गर्न नसकिनेगरी बर्षा र बाढी आएको थियो, त्यसले धेरै कुरामा क्षति गरेको छ,” उनले थपे । केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका थिए ।

मृत्यु भएका मध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए । घटनाका बारेमा टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा राखे । उनले जलवायु परिवर्तनलाई न्युनिकरण गर्न नसकेमा यस्तो संकट अरु पनि आइलाग्न सक्ने भन्दै त्यसका लागि पर्याप्त लगाउनी आवश्यक रहेकोमा जोड दिए ।

अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु परिरहेको बताउदै यसलाई उनले जीवन वा मरणको सवालको रुपमा उल्लेख गरे । समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताएर तुफान, चक्रवात र समुद्री हुरी उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्ने भएकाले यस्ता घटना अझ बढ्ने विज्ञहरुले आँकलन गरेका छन् ।

 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ४ : ४९ बजे