१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

बामदेवले पनि छाडे एमाले



काठमाडौं । एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै पार्टी कार्यालयका सचिवलाई राजीनामा बुझाएका हुन् ।

उनले स्पष्ट नगरेको भए पनि हालै नेता माधव कुमार नेपालले स्थापना गरेको नेकपा एकीकृत समाजवादीमा जाने धेरैले आशंका गर्का छन् ।

गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाई‌ंका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

राजीनामा पत्रका गौतमले एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री भएपछि वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को घोषणापत्रलाई पनि लागू नगरेको भन्दै उनले भनेका छन्, ‘तपाईंले गर्नुभएको कामहरुलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।’

जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुईतिहाइको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरीत संसद भंग गरेको गौतमको आरोप छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ९ : ३३ बजे