अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्ने भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्ष पुग्ने दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ ।
ह्वाइट हाउसले ट्वीटर सन्देशमार्फत जानकारी गराएअनुसार, सेप्टेम्बर ११ शनिबारका दिन बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ हमलाका तीनै स्थलमा यात्रा गरेर २० वर्षअघि गुमाएका जीवनलाई सम्मान र स्मरण गर्ने बताइएको छ ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डगलस इमोफ पनि छुट्टै कार्यक्रमको लागि पेन्सिलभेनियाको शाङ्कसभिल जाने कार्यक्रम रहेको बताइएको छ । उनीहरू शाङ्कभिलपछि पेन्टागनमा राष्ट्रपति बाइडेन र प्रथम महिला जिल सम्मिलित कार्यक्रममा सहभागिता जनाउने छन् ।
शुक्रबार राष्ट्रपति बाइडेनले संघीय जाँच ब्यूरोको सेप्टेम्बर ११ को जाँचसँग गोप्य भनिएका सम्बन्धित कागजातहरूको समीक्षा गर्न न्याय विभाग र अन्य सम्बन्धित निकायहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आगामी छ महिनामा ति कागजातहरू सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
सेप्टेम्बर ११, २००१ मा संयुक्त राज्य अमेरिकाले आफ्नो इतिहासकै सबैभन्दा घातक आतङ्ककारी आक्रमणको सामना गर्नुपरेको थियो । आक्रमणमा तीन हजार भन्दा बढी मानिसहरू मारिएका थिए ।
अल कायदाका चालकहरुद्वारा अपहरण गरिएका विमानहरूलाई न्यूयोर्कको विश्व व्यापार केन्द्रमा ठक्कर दिएर आक्रमण गरिएका थिए ।