१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

संखुवासभामा एकै परिवारका छ जनाको हत्या आफन्तबाटै भएको पुष्टी



काठमाडौँ । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङखोला गाउँका तेजबहादुर कार्कीको ६ जनाको परिवारको हत्या आफ्नै भतिजा पर्नेबाट भएको खुलेको छ । उनका भतिजा लोकबहादुर कार्कीले छ जनाको हत्या आफुले गरेको प्रहरी समक्षा स्वीकार गरेका छन् ।

प्रहरीले आइतवार २५ वर्षीय लोकबहादुरलाई सार्वजनिक गर्दै चिर्पट प्रहार गरेर ६ जनाको हत्या गरेको उल्लेख गरेको छ ।

प्रहरीका अनुसार लोकबहादुरले ‘व्यक्तिगत रिसइवी’का कारण हत्या भएको बताएको छ । मृतक तेजबहादुर र लोकबहादुर नाताले काका भतिज हुन् । अभियुक्त लोकबहादुरको भन्दा तेजबहादुरको परिरवारको आर्थिक अवस्था मजबुत रहेको देखिएको छ भने तेजबहादुरले लोकबहादुरको परिवारलाई सम्जाइ बुझाइ गर्ने गरेको प्रहरीले जनाएको छ ।

त्यही सम्झाइ बुझाइ रिसइवीको रुपमा लिएर लोबहादुरले तेजबहादुर र उनको परिवारलाई नै सखाप पारेको देखिएको उल्लेख गरेको छ । तेजबहादुरका दुई छोराहरु विदेशमा छन् भने लोकबहादुर वैदेशिक रोजगारीका लागि विदेश गए पनि मानसिक रोगका कारण वर्षदिन नपुग्दै फर्किएका थिए ।

सोमबार बिहानै घरबाट निस्किएका तेजबहादुरलाई बाटोमा ढुकेर बसेका लोकबहादुरले अचानक आक्रमण गरे । उनले घरबाटै लिएर गएको चिर्पटले तेजबहादुरको टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुरलाई आक्रमण गरेको देखिपछि श्रीमती मनमाया र बुहारी रञ्जना घरबाट दौडिँदै त्यहाँ पुगेको र दुवै जनालाई पनि लोकबहादुरले त्यही चिर्पटले हानेर हत्या गरेका थिए । त्यहीबेला तेजबहादुरका नाती विपी र नातिनी गोमाले घटना देखपछि उनीहरुको पनि लोकबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको उल्लेख छ ।

५ जनाको हत्या गरेपछि लोकबहादुर तेजबहादुरको घरमा पुगेको र कुँडो नजिकै बसिरहेकी तेजबहादुरकी आमा पार्वतीलाई भित्तामा ठेलेर चिर्पटले प्रहार गरी उनको पनि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तेजबहादुरका बुवा कान नसुन्ने र आँखा त्यति नदेख्ने भएकाले उनलाई केही नगरी लोकबहादुर आफ्नो घर फर्किएको प्रहरी अनुसन्धानमा देखिएको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : ५० बजे