९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

एमालेको विरोधकै बीच प्रतिनिधिसभाबाट बजेट पारित



काठमाडौं। प्रमुख प्रतिपक्षीको नारावाजीका बीच प्रतिनिधिसभाको सोमबारको बैठकले बजेट (विनियोजन विधेयक, २०७८) लाई पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताएका थिए ।

प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ । गत भदौ २५ गते प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ । अध्यादेशको समय गत बुधबार सकिएपछि ‘बजेट होलिडे’ को अबस्था श्रृजना भएको थियो ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : ५५ बजे