- बीके नेवा
न्युयोर्क । अमेरिकामा कार्यरत कराते प्रशिक्षक एवं रेफ्री पर्खी राईले पुनः अर्को सफलता पाएका छन् । उनी हालै मात्र अमेरिकन कराते महासंघबाट तेस्रो डान बनेका छन् । अमेरिकन कराते महासंघबाट तेस्रो डान पाउने राई पहिलो नेपाली हुन् ।
उनी यूएसए नेशनल कराते च्याम्पियनसिपको फाइनल खेलाउने पहिलो नेपाली रेफ्री पनि बनेका छन् । अमेरिकाको इलोनोइमा हालै सम्पन्न च्याम्पियनसिपमा एलिट पुरुप ७५ केजीको स्वर्ण पदकका लागि भएको वाउटको रेफ्री प्यानलमा राई पनि थिए । यूएस कराते च्याम्पियनसिप यस अगाडि अन्य नेपाली प्रशिक्षकहरुले खेलाए पनि एलिटतर्फको फाइनल वाउटका लागि रेफ्रि प्यानलमा पर्ने राई पहिलो नेपाली हुन् ।
पुरुष ७५ केजी तौल समूहको स्वर्ण पदकका लागि जेरर्ड स्मिथ र थमश स्कट भिडेका थिए । अमेरिकाको एथलिक्ट अफ एयर अवार्ड जितेका थमश ओलम्पियन समेत हुन् । सोलुखुम्बुका पर्खी राईले अमेरिका आएपछि मात्र कराते खेल्न थालेका हुन् । अहिले उनी अमेरिकामा कराते खेलका प्रशिक्षक, रेफ्रि र कराते स्कुलका मालिक बनेका छन् ।
पर्खी राई सन् २०१९ मा पान अमेरिकाबाट करातेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त रेफ्री बनेका थिए । सन् २०१५ मा उनले पान अमेरिकाबाटै राष्ट्रिय रेफ्री पाउका हुन् । पर्खी राई अमेरिका आएर ३२ वर्षको उमेरदेखि कराते खेल्न शुरु गरेका हुन् । सन् २००८ मा छोराहरुलाई कराते सिकाउनका लागि ज्याक्सन हाइटमा रहेको इन्टरनेशनल मार्शल आर्ट एशोसिएशनमा पाइला टेकेका उनले छोराहरु सँगसँगै आफुलाई पनि करातेकर्मी बनाए । संयोग के पनि छ भने पर्खी राईले जुन स्कुलमा करातेको कखरा सिके त्यही प्रशिक्षक बने र अहिले उनी नै त्यो स्कुलको मालिक समेत भएका छन् ।
पर्खी राईले अमेरिकन कराते महासंघबाट पनि तेस्रो डान प्राप्त गरेका छन् । यस अगाडि उनले सन् २०१७ मा इन्टरनेशनल कराते महासंघबाट तेस्रो डान प्राप्त गरेका थिए । एशोसिएशनबाट तेस्रो डान पाए पछि महासंघमा आवेदन दिनुपर्ने हुन्छ । प्राप्त निवेदनमा छानविन गरेपछि मात्र महासंघले डान सर्टिफिकेट दिने नदिने निर्णय गर्छ ।
युवा अवस्थाको डिलमा खेलकुदमा लागेर यो सफलता पाउने कमै भाग्यमानीमा पर्खी राई पर्छन् । नेपालमा करातेको संस्थापक मध्येका केही र अन्य खेलमा पनि ख्याति कमाएकाहरु अमेरिका आए पछि गुमनाम छन् । तर नेपालमा खेलकुदसँग कुनै साइनो नभएका पर्खी राईले अमेरिकामा आफुलाई सफल खेलकर्मी बनाएर नेपालको इज्जत बढाएका छन् ।