काठमाडौं । सरकारले साफ च्याम्पियनसीप प्रतियोगितमा उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीलाई जनही रु पाँच लाख र प्रशिक्षकलाई रु तीन लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय पनि गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ ।
यसैगरी बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा यही कात्तिक २ गते मुस्लिम सुमुदायलाई सार्वजनिक बिदा दिने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति दिने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्किंत प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्त गर्ने निर्णय भएको छ ।