काठमाडौं । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।
उनले अनुसार बाढी/पहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेको बताए । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।
गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ ।
आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।
मृतकका परिवारलाई रु दुई लाख राहत
सरकारले बाढी पहिरोबाट निधन हुनेका परिवारलाई रु दुई लाख राहत दिने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले एकै परिवारका दुई सदस्य निधन भएमा रु तीन लाख राहतस्वरुप दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसैगरी बाढी पहिरोका कारण आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु १५ हजार दिइने भएको छ । परिवारमा सोभन्दा बढी सदस्य भएमा रु २० हजार दिइने छ । यसैगरी विपद्मा परी घाइते भएकालाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको छ । पछिल्लो समय एक्कासी मौसम परिवर्तन भई गएको बाढी पहिरोका कारण विभिन्न क्षेत्रमा भएको क्षतिका विवरण सङ्कलन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
◦