१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

किन केनेडी हत्यासँग सम्बन्धित कागजातहरू सार्वजिनक भएनन् ?



वासिङ्टन । ह्वाइट हाउसले शुक्रबार अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजातहरू जारी गर्न ढिलाइ हुने बताएको छ ।

राष्ट्रपति जो बाइडेनले जनाएअनुसार उक्त घटना सँग सम्बन्धित बाँकी फाइलहरू तत्काललाई पूर्णरूपमा सार्वजनिक गर्नबाट रोकिने छ । अर्को वर्ष डिसेम्बर १५ सम्ममा टेक्सासको डलासमा केनेडीको हत्या भएको ६० बर्षपछि उक्त घटनासँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सन् २०१८ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै गोप्य फाइलहरू सार्वजनिक गरेपनि सुरक्षाको कारण देखाउँदै अन्य कागजात सार्वजनिक गर्नबाट रोकिएको थियो ।

ह्वाइट हाउसले जनाएअनुसार राष्ट्रिय संग्रहकर्तालाई ती कागजातको समीक्षा गर्नका लागि यथेष्ट समय चाहिने भएपनि कोरोना महामारीले उक्त कामलाई प्रभावित पारेको छ।

राष्ट्रपति बाइडेनले उक्त कागजातहरूको सार्वजनिकीकरणमा ढिलाइ “सैन्य रक्षा, खुफिया अपरेशन, कानून प्रवर्तन” आदिका कारणले भएको बताएका छन् ।

छयालीस वर्षीय पूर्व राष्ट्रपतिको हत्या एक “गहिरो राष्ट्रिय त्रासदी” थियो जुन “अमेरिकी इतिहासमा र त्यस भयानक दिनमा जीवित रहेका धेरै अमेरिकीहरूको सम्झनामा प्रतिध्वनित भएको छ बताइएको छ।

तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश अर्ल वारेनको नेतृत्वमा भएको १० महिना लामो अनुसन्धानले सोभियत युनियनमा बसेका पूर्व मरीन ली हार्वे ओसवाल्डले केनेडीको गाडीमा गोली चलाएको निष्कर्ष निकालेको थियो ।

तर आयोगको अनुसन्धान अधुरो भएकोमा आलोचना गरिएको थियो, पछि कङ्ग्रेसको समितिले केनेडीलाई सम्भवतः षड्यन्त्रको परिणामको रूपमा मारिएको निष्कर्ष निकालेको थियो।
अमेरिकी कानूनअनुसार हत्याका सबै सरकारी अभिलेखहरू जनतालाई पूर्णरूपमा सूचित पार्नका लागि सार्वजनिक गर्नु पर्ने हुन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १ : १० बजे